हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि काठमाडौँका वाङचु तामाङले जित्नुभएको छ ।उपाधिसँगै तामाङले नगद रु दुई लाख दुई हजार २०२ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।
प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा तामाङले काठमाडौँकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्नुभएको हो ।
उपविजेता शेर्पाले रु ८० हजार पुरस्कार पाउनुभयो । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी ‘हाइएस्ट ब्रेकर’को उपाधि समेत बाँड्नुभयो । उहाँले थप नगद रु १०÷१० हजार पुरस्कार पाउनुभयो ।

विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मीलन गुरुङ, कास्की बिलियार्ड स्नुकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, संघका महासचिव सविन जिसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पोखराको फाइनल स्कोर स्पोट्र्स बारको आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोग तथा पोखरा महानगरको प्रवद्र्धनमा यही भदौ १७ गतेदेखी प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा देशभरबाट एक सय ३६ जना खेलाडी सहभागी भएको आयोजक संस्थाका सञ्चालक प्रताप गुरुङले जानकारी दिनुभयो । यही भदौ २८ गतेसम्म खेल तालिका रहेकामा ‘जेनजी’ प्रदर्शनका कारण केही दिन खेल रोकिएको थियो । प्रतियोगिताको पोखराको खेल पर्यटन प्रवद्र्धनमा सहयोगी भएको आयोजकले जनाएको छ ।