हिमाली आवाज । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नवीनतम आविष्कारहरूलाई एकै थलोमा प्रदर्शन गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुने १३ औँ क्यान इन्फोटेक २०८२ को तयारी पूरा भएको छ ।
यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा–९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको साथमा क्यान इन्फोटक आयोजना हुँदैछ । यस बृहत् मेलाको टाइटर स्पोन्सरको जिम्मेवारी विश्वविख्यात डिजिटल सेक्युरिटी उत्पादक कम्पनी UNV (युएनभि)ले लिएको छ, जसले आयोजक क्यान कास्कीसँग सहकार्य गरेको छ।
पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिसरमै क्यान महासंघ कास्कीको सहकार्यमा यो प्रविधि प्रदर्शनी सञ्चालन गर्न लागिएको हो।
क्यान कास्कीका सचिव दामोदर डुम्रेका अनुसार, यस बृहत् मेलाको एक महत्वपूर्ण अंशका रूपमा क्यान इन्फोटेकलाई उभ्याउनुले प्रविधि र उद्योग व्यापारबीचको अन्तरसम्बन्धलाई थप मजबुत बनाएको छ। संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले मेलाका लागि यसपटक सीमित संख्यामा मात्र स्टल राखिएको बताउनुभयो ।
युएनभि : सुरक्षा प्रविधिमा अग्रणी भूमिका
युएनभिका नेशनल सेल्स म्यानेजर सर्दक अधिकारीका अनुसार युएनभि एक विश्वस्तरीय डिजिटल सेक्युरिटी कम्पनी हो, जसको नेपालका लागि आधिकारिक वितरक इगल टेक नेपाल रहेको छ। कम्पनीले नेपालभर २५० भन्दा बढी डिलर नेटवर्कमार्फत अत्याधुनिक सुरक्षा तथा अफिस अटोमेसन सामग्रीहरूको बिक्री–वितरण गर्दै आएको छ।
प्रदर्शनीमा युएनभिलले आफ्ना उत्पादनहरू, जस्तैः सीसीटीभी क्यामेरा, मोनिटर, स्टोरेज डिभाइस, रातमा पनि स्पष्ट दृश्य प्रदान गर्ने क्यामेरा, स्मार्ट बोर्ड र नेटवर्क उपकरणहरू लगायतका डिजिटल सुरक्षाका अत्याधुनिक समाधानहरू प्रस्तुत गर्नेछ।
नवीनतम प्रविधि र व्यावसायिक साझेदारीको केन्द्र
क्यान महासंघ कास्कीका अध्यक्ष पुरूषोत्तम कुँवरले यस प्रदर्शनीलाई सूचना तथा सञ्चार प्रविधि(आइसिटी) क्षेत्रका लागि ‘ट्रान्सफर्मेसनल’ अवसरका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले भन्नुभयो,“यो इन्फोटेक केवल प्रदर्शनी मात्र नभएर प्रविधि प्रेमीहरू, उपभोक्ताहरू र व्यावसायिक निकायहरूका लागि एउटा जीवन्त मञ्च हो। यसले उपभोक्ताहरूलाई बजारमा आएका नवीनतम हार्डवेयर र सफ्टवेयरको प्रत्यक्ष अनुभव लिने मौका दिन्छ। साथै, सहभागी कम्पनीहरूका लागि यो एउटा शक्तिशाली प्लेटफर्म हो, जहाँ उनीहरूले आफ्ना उत्पादनहरूको बजार सर्वेक्षण गर्न, ग्राहकको अपेक्षा बुझ्न र दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्न सक्नेछन्।”
क्यान महासंघका सदस्य संस्थाहरू लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको उत्पादन तथा प्रत्यक्ष प्रदर्शनीमा सहभागिता रहने जनाइएको छ। अवलोकनकर्ताहरूले व्यापार मेलाको परिसरमा स्थापित १३औँ क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विविध स्टलहरूको अवलोकन गर्न पाउनेछन्।


