माछापुच्छ्रे माविका प्रअ सन्तोष आचार्य नगद ५० हजार सहित सम्मानित

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ को माछापुच्छ्रे माध्यमिक विद्यालय भुर्जुङखोलाका प्रधानाध्यापक सन्तोष आचार्य नगद रु ५० हजार सहित सम्मानित हुनुभएको छ ।

सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो स्थापनाको ३० औँ वार्षिकोत्सवको अवसरमा आचार्यलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पु¥याएको दीर्घकालीन, नेतृत्वदायी र अतुलनीय योगदानको उच्च कदर गरी सो नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरेको हो ।

प्रअ आचार्यले गत वर्ष नगद रु ५० हजार राशीको “पी.पी. प्रसाईं उत्कृष्ट शिक्षक पुरस्कार” समेत प्राप्त गर्नुभएको थियो । साथै उहाँ प्रिन्सिपल एशोसिएसनबाट समेत नगद सहित पुरस्कृत हुनुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण समारोह गरिएको थियो ।सोही अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको छ।

माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका शिक्षक एलिसा अधिकारी र संगीता गुरुङ, मेघराज आधारभूत विद्यालय, घाचोककी शिक्षक सपना मिजार, तथा अन्नपूर्ण आधारभूत विद्यालय, मिर्साकी शिक्षक तिलकुमारी गुरुङलाई उत्कृष्ट शिक्षकका रूपमा जनही रु ६ हजार, नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। शिक्षक छनोट विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा गरिएको समितिले जनाएको छ।

यसैगरी समितिले माछापुच्छ्रे गाउँपालिका वडा नं. १, २ र ३ भित्रका १२ वटा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई कुल सात लाख ४२ हजार बराबरको छात्रवृत्ति वितरण गरेको छ।

साथै विद्यार्थीहरूबीच गणित दौड, मिठाई दौड, कविता तथा नृत्य प्रतियोगिता आयोजना गरी प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः रु. १६००, १३००, १००० र ७०० बराबरको स्टेशनरी पुरस्कार प्रदान गरिएको थियो।

वि.सं. २०५३  (सन् १९९६) मा माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भिम तामाङद्वारा स्थापित उक्त समितिले विगत तीन दशकदेखि विद्यार्थीहरूको शैक्षिक उत्थान, प्रतिभा विकास र शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निरन्तर सामाजिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम समितिका अध्यक्ष हर्क बहादुर घर्तीको अध्यक्षतामा तथा संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन समितिका सचिव बेगनाथ पौडेलले गर्नुभएको थियो। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार, अभिभावक, पूर्वविद्यार्थी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमहरूले शिक्षकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए।

Comments
Loading...