हिमाली आवाज । पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलका विद्यार्थीहरूले कक्षाकोठामा वर्षभरि आर्जन गरेको ज्ञान प्रदर्शनीमार्फत प्रस्तुत गरेका छन् । सिर्जनशीलता र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयमा आज प्रदर्शनी गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रारम्भिक कक्षाका बालबालिकादेखि माध्यमिक तहका विद्यार्थीहरूले आ–आफ्नो क्षमता अनुसार निर्माण गरेका सामगी्रहीहरु प्रदर्शन गरे ।
विद्यार्थीहरूले निर्माण गरेका विभिन्न वैज्ञानिक उपकरण र मोडेलहरूको प्रदर्शनी गरिएको हो । विज्ञान र प्रविधि लगायत समाजका विभिन्न पक्षमा क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूले आफ्नै प्रयासमा तयार पारेका करिब २० भन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा रोबोटिक्स र सेन्सर प्रविधि ,नवीकरणीय ऊर्जा ,पर्यावरण संरक्षण, आधुनिक कृषि क्षेत्रका प्रविधिको नमुना, गणित, विज्ञान तथा सामाजिक विषयका प्रदर्शनीमा राखिएको थियो ।
विद्यालयका प्राचार्य दीलिप शर्माले विद्यार्थीले वर्षभरिमा कक्षा कोठामा सिकेका सीपलाई व्यवहारमा उतारेर प्रदर्शनीमा राखिएको बताउनुभयो । उहाँले यस प्रकारको प्रदर्शनीले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुन पाएको समेत बताउनुभयो ।
“विज्ञान, गणित, सामाजिक लगायतका विषयमा कक्षामा सिकेको कुरा आज विद्यार्थीले व्यवहारमा अनुसरण गरेर प्रदर्शनी गरेका छन् । यसरी प्रदर्शनी गर्न पाउँदा उनीहरु खुशी छन् र आगामी दिनका लागि समेत उत्प्रेरित छन् । अभिभावकहरुले समेत रुचीपूर्वक प्रदर्शनी अवलोकन गर्नुभयो ।” प्राचार्य शर्माले भन्नुभयो ।
शिक्षालाई केवल पाठ्यपुस्तकमा मात्र सीमित नराखी यस्ता प्रदर्शनीले विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी बनाउने तथा विद्धार्थीमा नविन सोच विकासका लागि यस्ता कार्यक्रम फलदायी भएको विद्यालयले जनाएको छ ।
प्रदर्शनीमा दुई सय ५० विद्यार्थीको सहभागिता रहेको र आठ सय ५० जनाले अवलोकन गरेको प्राचार्य शर्माले जानकारी दिनुभयो।

