साफ महिला च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित,बंगलादेशले भुटानलाई हरायो

हिमाली आवाज ।  पोखरामा आजदेखी सुरु भएको साफ यु –१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल १–० गोलले भारतसँग पराजित भएको छ ।पोखरा रङ्गशाालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोेस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । नेपाल एक गोलले पछि परेपछि खेलमा फर्कन प्रयास गरेपनि सफल हुन सकेन । घरेलु टोली नेपाललाई निराश बनाएको भारत आफ्नो पहिलो खेलमा तीन अङ्क जोड्न सफल भयो । नेपालले अब भुटानसँग सोमबार दोस्रो खेल खेल्नेछ ।

यस अघि आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराउन सफल भयो । बगलादेशले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा थप आठ गोल गर्न सफल भयो ।

बंगलादेशकी मोस्ट मुन्की अख्तरले चार तथा श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक गरिन् । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरे ।

प्रतियोगितामा चार टोलीले भाग लिएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Comments
Loading...