सन्देश श्रेष्ठ,हिमाली आवाज ।
प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा बाल मन्दिर मावि सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बाल मन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड मावि र ग्लोबल कलेजियट जितविहीन् छन् । यी दुई टोलीको लिग चरणको अन्तिम खेल बुधबार सान्त्वना जितका लागि खेल्नेछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै वाराही माविले सेमीफाइनल पुग्ने आशा जिवितै राखेको छ । समूह ‘सी’ अन्तर्गत भएको पहिलो खेलमा प्रतिभा माविसँग ३ विकेटले पराजित वाराही माविले मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । प्रतिभा मावि र वाराही माविको एक÷एक जित भएकाले अब सेमीफाइनल यात्रा सुनिश्चित गर्न माघ २२ गते यी दुई टोली आमनेसामने हुनेछन् ।
लगातार दोस्रो जित दर्ता गने क्रममा मंगलबार बाल मन्दिर माविले डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर डायमण्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि व्याटिङमा आएको बाल मन्दिरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनायो । बाल मन्दिरका लागि अभिषेक क्षेत्रीले १८ बलमा २० रन, सुमन अधिकारीले २३ बलमा १५ र श्रीनिवास कठायतले २० बलमा १४ रनको योगदान दिए । बाल मन्दिरलाई ठूलो स्कोर हुनबाट रोक्ने क्रममा डायमण्डका मिलन पौडेलले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट तथा सुशांक तिवारीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट हत्याए ।
१२७ रनको बिजय लक्ष्य पछ्याएको डायमण्ड मावि १३.३ ओभरमा सबै विकेट गुमाएर केवल ५६ रनमा समेटियो । बाल मन्दिरका बलरहरुसामु निरीह देखिएका डायमण्डका लागि अविरल पोखरेलले सर्वाधिक ३१ बलमा ३२ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । अधिकांश खाता नखोली पेभेलियन फर्किदा सचिन तिमिल्सिनाले मुस्किलले १५ बलमा ६ रन बनाए । डायमण्डलाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले २.३ ओभरमा १७ रन खर्चेर ६ विकेट तथा श्रीनिवास कठायतले ३ ओभरमा ९ रन खर्चेर २ विकेट हत्याए ।सो खेलमा व्याटिङमा १५ रन तथा ६ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।
मंगलबारको दोस्रो खेलमा वाराही माविले नेपाल भारत मैत्री विद्यालयलाई ३४ रनले हरायो । टस जितेर नेपाल भारत मैत्रीले फिल्डिङ गरेपछि पहिले व्याटिङमा उत्रिएको १८.२ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्यो । वाराहीका लागि ब्रिजेश भट्टराईले २५ बलमा १९ रन, सक्सेल तिमिल्सिनाले १३ बलमा १५ रन र अभिषेक अधिकारीले १८ बलमा ११ रनको योगदान दिए । नेपाल भारत मैत्री विद्यालयका रोसन अग्रवालले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट र विराज गुप्ताले ४ ओभरमा २२ रन नै खर्चेर २ विकेट लिए ।
११० रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्रीले १५ ओभरमा सबै विकेट गुमाएर केवल ७५ रन मात्रै बनाउँदा पहिलो खेलमै पराजय बेहोर्नु पर्यो । नेपाल भारत मैत्रीका क्याम्मुदिनले २४ बलमा २३ रन र जरुण शर्माले १९ बलमा १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाल भारत मैत्रीलाई सस्तैमा समेट्न वाराही माविका विवेक सुनारले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट तथा सविन विकले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।सो खेलमा ५ विकेट लिएका बिजयी वाराहीका खेलाडी विवेक सुनार प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा टप्स मावि र छोरेपाटन मावि तथा दोस्रो खेलमा डायमण्ड मावि र ग्लोबल कलेजियट मावि प्रतिष्पर्धामा उत्रिने छन् ।


