हिमाली आवाज । पोखरा–२२ पुम्दीभुम्दीका स्थानियले नेकपाप्रति आफूहरु आशावादी रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका कारण देशमा बस्ने वातावरण नभएको भन्दै उनीहरुले अब नेकपाबाट मात्रै आशा रहेको बताएका हुन् । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरी घरदैलो तथा भेटघाटका लागि पुगेका बेला उनीहरुले सामुहिक रुपमा भने,‘कांग्रेस एमालेका कारण जेनजी आन्दोलन भयो, उनीहरुको कुशासनका कारण भदौ २३ गते देशमा ७६ जना जेनजीको जेनजीको हत्या भयो, अर्को दिन नया भनौदाहरुले सिंहदरबारदेखि अदालतसम्म जलाए । यसले गर्दा देशमा बस्ने वातावरण भएन, अब आशा भनेको नेकपाबाट मात्रै हो । त्यसैले हामी तपाईंहरुलाई जिताउँछौं तर देशमा बस्ने वातावरण बनाउनु पर्यो ।’जवाफमा नेकपा उम्मेदवार गिरीले देशमा बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्दता जनाए । ‘सुशासन र विकासको माध्यमबाट युवाहरुलाई नेपालमै बस्ने वातावरण मिलाउँछौं’–उनले भने ।
सो अवसरमा स्थानियले नेकपाका नेता रामजी बरालका कारण आफूहरुको क्षेत्रमा पिचबाटो बनाउनेदेखि विकासमा काम भएको भन्दै धन्यवाद दिएका थिए । हामी मत दिएर बिजय त गराउँछौं,उनीहरुको सामुहिक भनाई थियो,‘तर मत दिएर पठाएपछि नफर्किने होईन, हामीलाई सम्झिरहनू ।’
त्यस्तै, कास्की क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार राजकाजी गुरुङले घरदैलो र भेटघाट जारी राखेका छन् । सो क्षेत्रमा नेकपाले विहीबार चुनावी प्रचारप्रसार तथा घर दैलो अभियान अन्र्तगत पोखरा–२६ मा सम्पर्क कार्यालय स्थापना गर्ने जनाइएको छ । कास्की १ का उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले घरदैलो र भेटघाटलाई पनि निरन्तरता दिइरहेको सो क्षेत्रका चुनावी कमाण्डर सोमती गुरुङले जानकारी दिईन् ।
कास्की २ का उम्मेदवार किरण थापा (आमोद) बुधबार पनि घरदैलो कार्यक्रममा व्यस्त भए । पोखरा–२० भलामको ठकुरी टोल भलाम एरिया, डाँडागाउँ, भण्डारीथर हँुदै वडा कार्यालयसम्मको क्षेत्रमा घरदैलो कार्यक्रममा उनले जनतासंग भेटघाट र उनीहरुका सुझाव समेत संकलन गरेका छन् । जनताको सुझाव अनुसार नै विकासको खाका बनाउने योजना अन्तर्गत सुझाव संकलन गरेको सो क्षेत्रका चुनावी कमाण्डर खड्क हमालले जानकारी दिए । सो अवसरमा स्थानियले महानगरमा भएपनि पोखरा–२० विकासको मामलामा वत्ती मुनिको अँधेरोमा परेको भन्दै अब नेकपाबाट मात्रै आशा बाँकी रहेको बताए । मूलबाटोचाहिं पिच भएको तर घर जानेबाटोचाहिं जोखिमपूर्ण रहेको भन्दै लक्ष्मी सुनारले भनिन्,‘कतिबेला दुर्घटना हुने हो भन्ने पीर हुन्छ । हामी त पोखरामा भएर पनि विकासमा पछि परेको कर्णालीजस्तो भयौं । अब त तपाईंहरुको मात्रै आशा बाँकी रह्यो ।’
स्थानिय लक्ष्मी सुनारले २७ घर रहेको दलित बस्तीमा पानी र सडकको समस्या रहेको उनले सुनाईन् ।


