पोखरामा फागुन पहिलो साता अन्तरविद्यालय खुला राष्ट्रिय ब्याडमिन्टन

हिमाली आवाज । पर्यटकीय शहर पोखरामा फागुन पहिलो साता अन्तर विद्यालय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स कम्प्लेक्सको आयोजनामा पोखरा महानगरपालिका–१० स्थित फिट नेपाल स्पोर्टस् कम्प्लेक्समा फागुन १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा ११ वर्षमुनि, १३ वर्षमुनि, १७ वर्षमुनि र १९ वर्षमुनिको गरी चार विधामा छात्र तथा छात्रा उमेर समूहका खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले बताउनुभयो ।

“ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका उदयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको हो । ” गुरुङले भन्नुभयो । यसबाट खेलकुद विकासलाई टेवा दिने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका खेलाडीहरूको सहभागिता रहने पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी समेत रहनु भएको अध्यक्ष गुरुङले जनाउनुभयो ।
प्रतियोगिता अन्तर्गत यू—११ र यू—१३ तर्फका विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यसैगरी यू–१७ तथा यू–१९ समूहमा प्रथम हुने खेलाडीले जनही नगद रु ४० हजार मेडल, ट्रफी, प्रमाणपत्रसहित पाउने छन् ।
द्वितीयले रु २० हजार र तृतीयले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘बेस्ट स्कूल ट्रफी’ प्रदान गरिने आयोजकले जनाएको छ ।
जापानी प्रशिक्षक टि–यामामोतोले नेपालको ब्याडमिन्टन खेलमा राम्रो सम्भावना रहेको बताउनुभयो । नेपालले ग्रासरुट तहको खेल विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
फाउण्डेसनका सल्लाहकार जयराज हमालले मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताले पोखरा क्षेत्रको ब्याडमिन्टन खेलको विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा यू–१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना लगायतका चर्चित खेलाडीहरूको सहभागिता रहने छ ।

Comments
Loading...