हिमाली आवाज । रामेछापको मन्थली नगरपालिका वडा न–६ मसाने टारमा आज भएको यात्रुवाहक बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ।दुर्घटनामा परी मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेको उपचारका लागि धुलिखेल र काठमाडौँका अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो। दुर्घटनामा परेर तामाकोसी नदीमा खसेको बस बाहिर निकालिएको छ ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस बिहान करिब ११ बजे सडकबाट ५० मिटर तल तामाकोसी नदीमा खसेको थियो ।
बसमा २० जनाभन्दा बढी यात्रु रहेको बसको चालकले बताएको र चालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।बसमा कति यात्रु सवार थिए र दुर्घटना के कारणले भएको हो भन्ने विषय अझै खुल्न सकेको छैन ।यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न गोताखोर परिचालन गरिएको थियो ।


