हिमाली आवाज । पोखराको कालिका बहुमुखी क्याम्पसमा विश्वविद्यालयस्तरीय पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले एक विशेष गोष्ठी सम्पन्न भएको छ।
क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समितिद्वारा आयोजित उक्त कार्यक्रम क्याम्पस सभाहलमा विभिन्न व्यवसायिक तथा वित्तीय संस्थाका प्रतिनिधि, क्याम्पसका विभागीय प्रमुखहरू तथा एमबीएस कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रम क्याम्पस प्रमुख सहप्राध्यापक विरञ्जी गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै क्याम्पस प्रमुख गौतमले विश्वविद्यालयको पाठ्यक्रम समयसापेक्ष, विद्यार्थीको दैनिकी र बजारको मागअनुसार परिमार्जित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले ज्ञान, सीप र व्यवहारिक दक्षता विकास गर्ने खालको पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। साथै शैक्षिक संस्था र उद्योग क्षेत्रबीच सहकार्य सुदृढ गर्दै व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षण प्रणाली विकास गर्नुपर्ने धारणा राख्नुभयो।
क्याम्पसले हाल विज्ञान, शिक्षा, व्यवस्थापन तथा मानविकी संकायअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै निकट भविष्यमा विआइटी, विविए र विएचएम कार्यक्रम सञ्चालनको तयारी भइरहेको पनि उहाँले स्पष्ट गर्नुभयो। हाल क्याम्पसमा एक हजार सात सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तथा विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गरिँदै आएको उल्लेख गर्दै अनुसन्धान विभागमार्फत प्राप्त निष्कर्षका आधारमा खानेपानी तथा विद्यार्थी सहयोग कक्ष स्थापना गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीले हालको पाठ्यक्रमले वास्तविक बजारको मागअनुसार आवश्यक जनशक्ति उत्पादन गर्न नसकेको उल्लेख गर्दै विश्वविद्यालयीय पाठ्यक्रम र विद्यार्थीको जीवनोपयोगी सीप विकासबीच अन्तर रहेको धारणा व्यक्त गर्नुभयो।
व्यवस्थापन विभाग प्रमुख सन्तोषमणि लामिछाने तथा एमबीएस कार्यक्रम संयोजक सुनिल कोइरालाले विश्वविद्यालयीय पाठ्यक्रममा व्यावसायिक र उद्योगमुखी विषयवस्तु समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उद्योग क्षेत्रले आफ्ना वास्तविक समस्या शैक्षिक संस्थासँग साझा गरी अनुसन्धानमा आधारित समाधान खोज्न सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो।
उद्योग क्षेत्रका प्रतिनिधिहरूले पनि व्यवहारिक सीप अभावका कारण रोजगारीमा चुनौती देखिएको उल्लेख गरे। सुजल फुड प्रा लिका प्रतिनिधि अमृत तिमिल्सिर्नाले प्रत्येक उद्योगका विशिष्ट आवश्यकतासँगै विद्यार्थीमा आधारभूत सामान्य सीपसमेत अभाव हुँदा रोजगार व्यवस्थापनमा कठिनाइ उत्पन्न हुने गरेको बताउनुभयो। उहाँले कम्तीमा दुई महिनाको अनिवार्य इन्टर्नसिप पाठ्यक्रममा समावेश गर्न सुझाव दिनुभयो।
सानिमा बैंकका शाखा प्रबन्धक बसन्त पाण्डेले पाठ्यक्रम उपयुक्त भए पनि शिक्षण पद्धति अझै परीक्षा–केन्द्रित रहेकाले व्यवहारिक तथा अन्तरक्रियात्मक शिक्षण प्रणाली आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। रोजगारदाताले कम्तीमा एक महिनाको संस्थागत अभिमुखीकरण पश्चात मात्र कार्यसम्पादन प्रभावकारी हुने अनुभव साझा गरे।
सूचना प्रविधि क्षेत्रका प्रतिनिधि अमृत लाम्सालले वर्तमान पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तन लाई पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै आइटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सुधार आवश्यक रहेको बताउनुभयो।
पर्यटन क्षेत्रको प्रतिनिधित्व गदै होटल वाराहिका राम प्रसाद भण्डारीले हालको विश्वविद्यालयको पाठ्क्रममा होटल व्यवसायमा आवश्यक सिप विकास सम्वन्धीको विषय वस्तु उल्लेख नभएको कुरा उल्लेख गदै वर्तमान पाठक्रममा परिमार्जन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गर्नुभएको थियो। गोष्ठीमा संकलित सुझावका आधारमा विस्तृत प्रतिवेदन तयार गरी विश्वविद्यालयमा पाठ्यक्रम परिमार्जनका लागि औपचारिक सिफारिस पठाइने क्याम्पस प्रशासनले जनाएको छ।
यस प्रकारको बहुपक्षीय सहभागितामूलक पहलले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी तथा रोजगारमुखी बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।


