फेवातालमा जाल हान्ने क्रममा अत्याधुनिक हतियार र गोली भेटियो

हिमाली आवाज । पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र सो हतियारमा प्रयोग हुने १८ राउन्ड गोली फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यही माघ २९ गते साँझ खपौँदी नजिक स्थानीय ४२ वर्षीय कुमार जलारीले तालमा जाल हानी माछा मार्ने क्रममा मु.वा.१११(बट)नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राईफल फेला परेको थियो ।

हतियारसँगै सो राईफलमा लोड गरिएको १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन बरामद भएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। प्रहरीले तालमा फेला परेको हतियार कसको हो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
“जाल हान्दा हतियार भेटिएको सूचना पछि प्रहरी पुगेर हतियार बरामद गरेको हो । त्यो हतियार प्रहरीको हो, सशस्त्रको हो वा नेपाली सेनाको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।” प्रनाउ बस्नेतले भन्नुभयो ।

प्रहरीको केन्द्रीय हतियार भण्डारण शाखामा हतियारको अभिलेख रहने भएकाले कसको हो भन्ने छिट्टै पुष्टि हुने प्रहरीले जनाएको छ । सो हतियार गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हुन सक्ने समेत आकलन गरिएको छ ।

Comments
Loading...