आहा रारा पोखरा गोल्डकपमा फ्रेण्ड्सलाई हराउँदै प्लानिङ ब्वाइज क्वाटरफाइनलमा

हिमाली आवाज । पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ ।

पोखरा रङ्गशालामा भएको खेलमा प्लानिङले ४—० गोलको फराकिलो अन्तरले फ्रेण्ड्स माथि जित निकालेको हो । विदेशी खेलाडी पापा इबु केबेको ह्याट्रिकको मद्धतमा उत्कृष्ट जित निकाल्दै प्लानिङ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । प्लानिङले आहा रारामा पहिलोपटक सहभागिता जनाएको हो ।

खेलको २४ औं मिनेटमा पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा प्लानिङले अर्को गोल थप्यो । साहिल केसीले दिएको उत्कृष्ठ पासलाई ईबीयु केबेले उत्कृष्ट गोल गर्नुभयो ।
खेलको ५४ औं मिनेटमा केबेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्डसमाथि दबावसँगै अन्तर फराकिले बनाउनुभयो । खेलको ८१ औं मिनेटमा गोल गर्दै केबेले ह्याट्रिक गर्नुभयो ।

प्रतियोगितामा शनिबार पहिलो क्वार्टरफाईनल खेलमा घरेलु टोली सहाराले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

Comments
Loading...