आहा रारा पोखरा गोल्डकप : सहारा सेमिफाइनलमा,पुलिस स्तब्ध

हिमाली आवाज । आयोजक सहारा क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो क्वाटरफाइनलको रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथसम्म पुगेको खेलमा ६–५ गोलले हराउँदै सहाराले अन्तिम चारमा स्थान बनाएको हो । सहारासँग पराजितभएँगै पुलिसको अघिल्लो चरणको यात्रा समाप्त भएको छ ।

पुलिस क्लबले खेलको ४९ औं मिनेटमा कप्तान राम वाजीको गोलमार्फत अग्रता लिएको थियो । खेलको ६१ औं मिनेटमा सहाराले पेनाल्टी पायो । मुकुन्द कुमार निउरेले कुनै गल्ती नगरिकन गोल गर्दै खेल बराबरीमा ल्याए ।निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा पुलिसका राम वाजीको प्रहार असफल रहँदा सहाराका गोलरक्षक टिकेन्द्र थापा पनि गोल गर्नबाट चुके । तर सडेन डेथमा पुगेको खेलमा पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै टिकेन्द्रले टोलीलाई सेमिफाइनल पु¥याउन निर्णायक भूमिका खेले ।

पेनाल्टीमा सहाराका डिनियल बडारु, प्रशन्न श्रेष्ठ, विनय तामाङ, विक्की चामलिङ राई र शिसश थापाले गोल गर्नुभयो । पुलिसका निरज खड्का, दशरथ गिरी,जोन विष्ट, विजय उराव, अमित टमाटा र सञ्जीव लामाले गोल गर्नुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सहाराका गोलरक्षक थापा ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद रु १० हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा आइतबार जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।
यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।

Comments
Loading...