जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

हिमाली आवाज । पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा जावलाखेल युवा क्लबले स्थान बनाएको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा अपि चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलका फराकिलो अन्तरले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा पुग्न सफल भयो ।

खेलको पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने जावलाखेलले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
धर्वेन्द्र कुँबरले ४८ औँ मिनेटमा गोलको खाता खोले । पेनाल्टी क्षेत्रबाट गरेको प्रहार चर्चका गोलकिपर दीप कार्कीले फुत्काएपछि कुँबरले गोल गरे । खेलमा अग्रता बनाएपछि जावलाखेलले खेलमा झन् पकड बनायो।

विदेशी खेलाडी निकोलसले ८८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । इन्जुरी समयमा वैकिल्पक खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका सुजन गुरुङले गोल गरेपछि जावलाखेलले फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।

खेलपछि विजेता टोली जावलाखेललका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले विपक्षी टोली बलियो भएपनि आफ्ना खेलाडीले मेहनत गरेर खेलेकाले जित हासिल भएको बताउनुभयो।

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले शनिबारमात्र धरानमा खेलेर आज विहान यहाँ आएकाले थकानका कारणले खेलाडीले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिनुभयो। खेलाडीहरु केही घाइते भएकाले समेत खेल कठिन भएको उहाँको भनाई छ ।
प्रतियोगितामा सोमबार मनाङ मस्र्याङदी क्लब र थण्डरबोल्ड नर्थ युनाइडेट सिक्कीमका बीच खेल हुने आयोज सहाराले जनाएको छ ।
यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोली सहभागी छन्।
प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।

Comments
Loading...