हिमाली आवाज । मनाङ मस्र्याङदी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेडमाथि १–० को कठिन जित निकाल्दै मनाङले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
खेलको ९० मिनेटको निर्धारित समयमा दुबै टोलीबाट गोल हुन सकेन । त्यसपछि ३० मिनेट खेलमा थप गरिएको थियो । थप गरिएको समयको पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष श्रेष्ठले निर्णायक गोल गर्नुभयो । कर्नरबाट आएको बललाई श्रेष्ठले हेड गर्दै बललाई जाली चुमाउनुभयो ।
खेलमा दुबै टोलीले गोलका केही सुन्दर मौका खेर हालेका थिए । खेलमा निर्णायक गोल गर्नुभएका मनाङका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो र रु १० हजार पुरस्कार पाउनुभयो ।
‘पोष्ट म्याच कन्फ्रेन्स’मा मनाङका प्रशिक्षक अनिल तामाङले खेलाडीले मेहनत गरेर खेलेकाले जित सम्भव भएको बताउनुभयो । उहाँले मैदानमा अझै खेलाडी अभ्यस्त हुन नसक्दा सोचेजस्तो प्रदर्शन नभएको बताउनुभयो ।
पाहना टोली थण्डरबोल्डका प्रशिक्षक आशिष क्षेत्रीले मनाङ जस्तो राम्रो टिमसँग आफ्ना खेलाडीले राम्रो खेल प्रस्तुत गरेको बताउनुभयो । पोखरामा आएर खेल्न पाउँदा खुशी लागेको उहाँले अनुभुति राख्नुभयो ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल मंगलबार प्लानिङ ब्वाइज युनाइेट र उज्वेकिस्तानको आभा फुटबल क्लबका बीचमा खेल हुनेछ ।
यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।


