हिमाली आवाज । सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटकको च्याम्पियन टोली मनाङ मस्र्याङदी क्लबलाई सडन डेथमा हराउँदै सहारा फाइनलमा पुगेको हो ।
खेलको नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा समेत समान पाँच÷पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो ।
मनाङका कप्तान सविन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि आहा राराको फाइनलमा पुग्न सफल भएको हो ।
टाइब्रेकरमा सहाराका कप्तान सुशिल लामा, विक्की चामलिङ राई, आशिष गुरुङ, मुकुन्द कुमार न्यूरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गर्नुभयो ।
यसैगरी मनाङका अशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गर्नुभयो ।
सहाराले अन्तिम पटक विसं २०७३ मा फाइनल पुगेको थियो । त्यसबेला फाइनलमा मनाङसँगनै सहारा पराजित भएको सहाराले त्यसयता फाइनल पुग्न सकेको थिएन ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा बिहीबार जावलाखेल युथ क्लब र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ ।
गत माघ २७ गतेदेखी सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ ।


