हिमाली आवाज । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनुभएको छ ।
पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा हुनु आवश्यक हुने बताउदै उहाँले हाम्रा विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्ने आवश्यकता औंल्याउनुभयो। आर्थिक समृद्धि र मानव कल्याणसँग नजोडिएको ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन बन्दै जाने उहाँको भनाइ छ ।
विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो संख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय भएको उहाँले बताउनुभयो। दीक्षित विद्यार्थीलाई उहाँले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउने तर्फ केन्द्रित बन्न आग्रह गर्नुभयो ।
परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु यो समयको अनिवार्य आवश्यकता भइसकेको उहाँले बताउनुभयो ।


