कृष्ण दवाडी
हिमाली आवाज । आहा रारा पोखरा गोल्डकप मोफसलकै पुरानो फुटबल प्रतियोगिता हो । माओवादी जनयुद्ध, भुकम्प र नाकावन्दी लगायतका प्रतिकूल अवस्थामा पनि यो प्रतियोगिता कुनै वर्ष पनि रोकिएन । हाल २५ औँ सस्करणसम्म आइपुगेको प्रतियोगिताको उपाधि भिडन्त आज पोखरा रङ्गशालामा हुँदैछ ।
दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र आयोजक सहारा क्लब पोखरा मैदानमा उत्रिदै छन् । विगतमा जस्तो यसपटकको फाइनलमा चिरपरिचित मनाङ मस्र्याङदी, पुलिस क्लबजस्ता धेरै पटक उपाधि जितेका टोली छैनन् ।
जावलाखेल आहा राराको पहिलो उपाधि खोजीमा रहँदा घरेलु टोली सहारालाई १२ वर्षपछि उपाधि घरमै राख्ने मौका जुरेको छ । नेपाली उखाननै छ ‘१२ वर्षमा खोलो फर्किन्छ’ । सहारा भोली त्यही उपाधि जितेको खोलो फर्काउने लक्ष्यमा हुनेछ । सहाराले यसँगै चारपटक फाइनल खेल्दा विसं २०७० मा मात्र उपाधि जितेको छ । विसं २०६९ मा थ्रीस्टार र विसं २०७२ मा मनाङसँग फाइनलमा सहारा पराजित भएको थियो ।
जावलाखेल भने आहा रारामा दोस्रो पटक फाइनलमा पुगेको टोली हो । विसं २०६८ मा फाइनल पुगेको यो टोली उपाधि भिडन्तमा मनाङसँग पराजित भएको थियो । त्यसता अधिकाँस संस्करणमा सहभागी हुँदै आएको जावलाखेलले फाइनल खेल्न पाएको छैन । उपाधि जितेर पोखरामा नयाँ इतिहास कामय गर्ने लक्ष्यमा जावलाखेल छ ।
जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।
सहाराले भने प्रिक्वाटरफाइनलमा गोरखा इन्टरनेशलन फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई सडन डेथमा ६–५ र सेमिफाइनलमा मनाङमस्र्याङ्दी क्लबलाई सडन डेथमै ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
जावलाखेलमा प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पोखराको मैदानमा उपाधि जितेर इतिहास बनाउने योजना सुनाउनुभयो । “हामीले पोखरामा उपाधि जित्न सकेका छैनौँ, राम्रो फुटबल खेलेर भोली त्यो उपाधि सपना साकार पार्नेछौँ ।” श्रेष्ठले भन्नुभयो । आक्रामक फुटबल खेल्ने र सुरुआतमा गोल गर्ने जावलाखेलको रणनीति हुनेछ । सेमिफाइनलमा उज्वेकिस्तानको आभा एएफसीलाई पराजित गरेकाले जावलोलका खेलाडी उच्च मनोवल सहित फाइनल खेलमा मैदान उत्रिने कप्तान युनेश चौधरीले भन्नुभयो ।
सहाराका प्रशिक्षक सुनिल रानाले घरेलु मैदान र दर्शकको साथ रहने भएकाले उपाधि उचालेर इतिहास दोहोराउने लक्ष्य सुनाउनुभयो । उहाँले भन्नुभयो,“घरेलु समर्थकलाई खुशी दिनेछौँ । १२ वर्षपछि उपाधि घरमै राख्ने योजना छ, राम्रो फुटबल खेल्नेछौँ ।” रानाले भन्नुभयो ।
सहाराका कप्तान सुशील लामाले टोली उच्च मनोवल र फर्ममा रहेकाले उपाधि जित्ने दावी गर्नभयो । “टिम उच्च मनोवल र लयमा छ । हामी फाइनल जित्नेछौँ ।” लामाले भन्नुभयो । सहारा एकेडेमीका उत्पादन समेत रहनुभएका लामालाई यसपटक कप्तानका रुपमा उपाधि चुम्नेमा आशावादी हुनुहुन्छ ।
गत माघ २७ गतेदेखी सुरु भएको २५ औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजार सहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लब जनाएको छ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।


