हिमाली आवाज । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट कास्की क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार राजकाजी गुरुङ(करण)ले आसन्न फागुन २१ गतेको निर्वाचन बर्गसंघर्षको अर्को रुप भएको बताउनुभएको छ ।
पोखरामा आज भएको क्षेत्र नं १ को युवा भेलामा उहाँले समाजलाई अघि बढाउने वा पछाडि फर्काउने भन्ने लँडाई अबको चुनाव रहेको स्पष्ट पार्नुभयो । उम्मेदवार करणले भन्नुभयो,“ आउने चुनाव बर्गसंघर्षको अर्को रुप हो । यो लँडाईमा जनताले जित्नेछन् । ”
उहाँले तत्कालीन काँग्रेस र एमालेको सरकारले जनताको माग ठीक ढंगले सम्वोधन गर्न नसक्दा नवयुवाहरुले ज्यान गुमाउनुपर्ने अवस्था भएको समेत बताउनुभयो ।
“जनताको चाहना, भावना र माग सुन्न नसक्ने सरकारप्रति हाम्रो सद्भाव रहँदैन । त्यसैग्री जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति बेखबर हुनेहरु नयाँ भन्दै हिँडेका छन् । नयाँको कुनै पनि नीति छैन, अस्पष्ट नीति भएकाहरुबाट देश चल्न सक्दैन । हामी चुनावमार्फत जनताको जीवनमा परिर्वतन ल्याउन चाहन्छौँ, समृद्ध समाजमार्फत वैज्ञानिक समाजवादमा देशलाई लैजान्छौ । ” उम्मेदवार करणले भन्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दीपक कोइरालाले राजनीतिमा नीति, विचार र सिद्धान्त आवश्यक छ भन्नुभयो ।
उहाँले अहिलेको निर्वाचनमा देश जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएकाले त्यस्तो शक्तिलाई विजयी गराउन आग्रह गर्नुभयो । “देशभरी नेपाली कम्युनिष्ट पार्टी बाहेक अन्य कसैको जित निश्चित भएको ठाउँ छैन । अहिलेको चुनावमा नेकपाले देशभर विजय हासिल गर्दछ । ”कोइरालाले भन्नुभयो । भेलामा नेकपाका केन्द्रीय सदस्य पूर्ण लामा लगायतले भनाई राख्नुभयो । युवा भेलाका अवसरमा ५० भन्दा बढी जेनजी युवाहरु नेकपा प्रवेश गरेका थिए ।


