पोखरा,१७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नं.३ ले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै ‘सुरक्षा कमाण्ड’ घोषणा गरेको छ । पोखरामा आयोजित विशाल भेलामा सयौं युवाको सहभागिता रहेको थियो । सहभागी युवाहरूले एमालेका उम्मेदवारलाई विजयी गराउने दृढ प्रतिबद्धतासहित कमाण्ड घोषणा गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एमाले नेता तथा पूर्व मन्त्री जगत बहादुर विश्वकर्माले चौतर्फी घेराबन्दीका बीच पनि एमालेको जित सुनिश्चित हुने दाबी गर्नुभयो ।
एमाले कास्की–३ का उम्मेदवार दामोदर पौडेल (वैरागी) ले एमाले जनतामाझ स्थापित शक्ति भएको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्व एमालेले गर्ने विश्वास व्यक्त गर्नुभयो ।
५ सय सदस्यीय सुरक्षा कमाण्ड गठन
भेलाले पानबहादुर जिसी, नमराज केसी र मञ्जु कुँवरको नेतृत्वमा ५ सय सदस्यीय सुरक्षा कमाण्ड घोषणा गरेको छ । एमाले नेता लक्ष्मी अधिकारीका अनुसार निर्वाचनलाई आफ्नो पक्षमा पार्ने र निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले कमाण्ड गठन गरिएको हो ।

क्षेत्र नं. ३ अन्तर्गत पर्ने पोखरा महानगरका वडा नं. १, २, ५, १८, १९, २४ र २५ को कमाण्ड जिम्मेवारी डिल्लीराम सुवेदीलाई दिइएको छ । अन्य वडाको जिम्मा सूर्य भण्डारीलाई तोकिएको छ । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा दलबहादुर लामिछाने र अन्नपूर्ण गाउँपालिका मा शिव सुवेदीलाई कमाण्डरको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा नेता राजिव पहारी, माधव बास्तोला, कमाण्डर शिव सुवेदी र जेनजी शिवानी पौडेलले एमालेको पक्षमा जुनसुकै शक्तिविरुद्ध पनि सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो। भेला नेकपा एमालेका युवा नेता पानबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


