पोखरामा होलीमा रमाए विदेशी पर्यटक

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकले सोमबार फागुपूर्णिमा(होली) रङ दलेर रमाइलो गरेर मनाएका छन् ।
विगतमा वर्षहरुमा पोखरामा भव्य रुपमा होली उत्सव हुने गरेपपनि यस पटक औपचारिक कार्यक्रम गरिएको थिएन । तर लेकसाइड क्षेत्रमा रहेका पर्यटकहरुले स्थानीयसँगै मिलेर (होली)को शुभकामना सहितको टिसर्ट लगाएर होली मनाएका हुन् ।
रङ खेल्न पाउँदा पर्यटकहरु दङ्ग देखिन्थे । पोखरामा पहिलोपटक आउनुभएकी चिनियाँ पर्यटक सियोङले रङ खेलेर रमाइलो गर्दा धेरै खुशी लागेको बताउनुभयो । “हामी धेरै खुशी भयौँ। नेपाली सहित हामी साथीहरु मिलेर रमाइलो गरेका छौँ । ” उहाँले भन्नुभयो ।
जिल्ला प्रशासनले निर्वाचन आचारसंहितालाई लिएर होलीका लािग अनुमति नदिएपछि औपचारिक कार्यक्रम नगरिए पनि पर्यटकहरुले स्वतस्फूर्त होली खेलेर रमाइलो गरेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन(रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । “यति बेला पोखरामा विदेशी पर्यटक राम्रै छन् । उनीहरुले स्थानीयसँग मिलेर होलीमा रमाइलो गरेका हुन् ।”पौडेलले भन्नुभयो ।
लेकसाइडको मुख्य सडक क्षेत्र सहित ताल किनारमा बसेर स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न रङमा रङ्गिएर खुशीसाथ होलीको रमाइलो गरेका हुन् ।
विगतका वर्षहरुमा पोखरामा सार्वजनिक रूपमा होली उत्सव आयोजना हुने गरेको थियो । यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता कार्यान्वयनलाई मध्यनजर गरेर होली लगायतका अन्य सार्वजनिक कार्यक्रममा जिल्ला प्रशासनले रोक लगाएको छ ।

Comments
Loading...