हिमाली आवाज । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार छ सय ९८ मत बदर भएको छ ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार चार सय २५ मत खसेकामा एक लाख ८६ हजार सात सय २७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ ।
कास्की–१ मा जम्मा ७१ हजार आठ सय ६ मत खसेकामा ६९ हजार नौ सय ५४ मत सदर हुँदा एक हजार आठ सय ५२ मत बदर भयो ।
यसैगरी क्षेत्र नं २ मा ५३ हजार तीन सय ९५ मत खसेकामा ५२ हजार एक सय ८७ मत सदर हुँदा एक हजार २ सय आठ मत बदर भयो ।
क्षेत्र नं ३ मा ६६ हजार दुई सय २४ मत खसेको थियो । यस क्षेत्रमा ६४ हजार पाँच सय ८६ मत सदर हुँदा जम्मा एक हजार ६ सय ३८ मत बदर भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखी १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्लमा विसं २०७९ को निर्वाचनमा भने पाँच प्रतिशत मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार आठ सय छ मत खसेकामा सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ थियो ।
सूचना अधिकारी न्यौपानले मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको जानकारी दिनुभयो ।
“विगतको निर्वाचनमा भन्दा मत बदर यसपटक धेरैनै कम भएको छ । सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाले समेत न्यून सङ्खामा बदर भएको । अझै पूर्ण रुपमा मतदाता शिक्षा पुग्न नसकेको देखिएको छ ।” न्यौपानेले भन्नुभयो ।


Comments