पोखरा–जोमसोम हवाई सेवा सञ्चालन आयो

हिमाली आवाज । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।

तर, पोखरा–जोमसोम हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलवार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यसअघि पोखरा—जोमसोम हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रुअरी १ सम्म पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो । यहाँ नियमित रूपमा उडान गर्दै आइरहेको तारा एयरलाइन्स कम्पनीले मार्च १ तारिखदेखि हवाई उडान सुचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो ।

Comments
Loading...