पोखराको गोकुलधाममा चैत २ देखी सप्ताहव्यापी ज्ञान महायज्ञ हुँदै

हिमाली आवाज । पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुलधामको तेस्रो वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ ।

गोकुलधामका परिकल्पनाकार एवं संरक्षक भागवत भाष्कर युवा पण्डित कमल नयन गौतमका अनुसार यही चैत्र २ गतेदेखि ९ गतेसम्म गोकुलधाम परिसर पोखरा १४ वात्सायक्ष क्षेत्र बाच्छीबुडुवामा ज्ञान महायज्ञ सञ्चालन हुनेछ ।
जनजनका मनमा सेवा गर्ने भावना ओतप्रोत गराउन ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई अङ्गीकार गर्दै स्थापित राष्ट्रिय परोपकार महासङ्घ नेपालले देशभर प्रकृति र हिमाल संरक्षणका लागि कल्पवृक्ष अभियान, गौ रक्षाका लागि गौशाला निर्माण, वृद्धवृद्धाहरुका लागि परोपकार ज्येष्ठ नागरिक चौतारी, दैनिक एक रुपैयाँ दान, मुठ्ठी दान, धर्मशाला, अन्न क्षेत्र, अनाथ असहायका लागि बाल आश्रम, वैदिक संस्कृति रक्षाका लागि गुरुकुल आश्रम सञ्चालन लगायतका परोपकारी कार्यहरू गर्दै आएको छ ।

पोखराको प्रमुख समस्याको रूपमा रहेका छाडापशुचौपायहरुको व्यवस्थापन गर्दै विगत ३ वर्षदेखि पोखरा १४ स्थित बाच्छीबुडुवामा महानगरपालिकाको सहयोग एवं महासङ्घको व्यवस्थापनमा गोकुलधाम सञ्चालनमा रहेको छ । गोकुलधामले सडकमा बेवारिसे छाडिएका गोवंश एवं वृद्ध अवस्था पुगेका रोगी अशक्त अवस्थाका गाईहरूलाई आश्रय सहित स्वास्थ्य उपचार, स्याहार सुसार एवं आहार लगायतका सेवा प्रदान गरिरहेको छ । हाल करिब ३०० बढी गो वंशहरूको संरक्षण र संवद्र्धनको कार्य गोकुलधाममा चलिरहेको संरक्षण गौतमले बताउनुभयो ।

३ वर्ष अगाडीसम्म पोखराको सडकमा छाडिएका छाडापशुचौपायहरुका कारण बर्सेनि ३ जनासम्मको ज्यान जाने गरेको थियो । पुष्करिणी परोपकार गोकुलधामको सहजीकरणले गर्दा विगत तीन वर्षदेखि दुर्घटना शून्य अवस्थामा पुगेको छ । गोकुलधामलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित सडकमा छाडिएका बेवारिसे वंशहरूको सेवा स्याहार सुसार सँगसँगै केही दुधालु गाईहरूबाट दूध उत्पादनको प्रक्रिया अगाडि बढेको गौतमले बताउनुभयो । गोकुलधाममा हाल दैनिक रूपमा करिब ७० लीसम्म दूध उत्पादन भइरहेको छ ।

गौशालालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन गो वंशहरूको गोबर र गहुँतलाई प्रशोधन प्रक्रिया अगाडि बढाएर प्राङ्गारिक मल, गँड्यौला मल, झोल मल उत्पादनसँगै शुद्ध अग्र्यानिक तरकारी खेती समेत सुरुवात गरिएको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यार्थीहरू, विभिन्न समूहहरू गोकुलधाममा पुगेर अध्ययन अवलोकन समेत गरेको उहाँले जनाउनुभयो । यसलाई एउटा खुल्ला सिकाई केन्द्रका रूपमा विस्तार गर्दै आध्यात्मिक क्षेत्रका रूपमा सबै उमेर र समुदायका लागि गन्तव्यको स्थल बनाउँदै लैजाने लक्ष्य राखिएको छ ।
ध्यान, साधना, आराधना र सेवाको केन्द्रबिन्दुका रूपमा बाच्छीबुडुवा क्षेत्रको विकास गर्ने लगायतका लक्ष्यहरूलाई पूर्णता दिन परोपकारी मनहरूलाई जोड्दै सेवा र श्रद्धाका साथ हजारौँ जनसमुदायको सहभागिता सँगसँगै गोकुलधाम दर्शन गराउने गरी श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरिएको गौतमले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाले गौशाला सञ्चालनका लागि बर्सेनि आर्थिक लगायतको प्रत्यक्ष सहयोग गर्दै आइरहेको छ ।

Comments
Loading...