हिमाली आवाज । पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कप(पिएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्कीले उपाधि जितेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा नवलपुरलाई ४८ रनले पराजित गर्दै कास्की लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । यसअघि अघिल्लो वर्ष समेत कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको थियो ।
फाइनल खेलमा कास्कीले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४० रन बनायो । उपाधिका लागि दुई सय ४१ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर ४३ ओभरको दोस्रो बलमा जम्मा एक सय ९२ रन बनाएर ‘अलआउट’ हुन पुग्यो ।
कास्कीको जितमा अर्जुन कुमाल नायक बने । उनले एक सय ३१ बलमा एक सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीलाई बलियो स्थितिमा पु¥याए ।
सुभाष भण्डारीले ५३ बलमा ४२ रन बनाए । अन्तिम समयमा कृष्ण पौडेलले आक्रामक ब्याटिङ गर्दै १४ बलमा २७ रन जोड्दा टोलीको स्कोर प्रतिस्पर्धात्मक बनेको थियो।
बलिङतर्फ नवलपुरका अपराजित पौडेल र कमल परियारले समान दुई÷दुई विकेट लिए भने मुन्ना नेपाली र सुदीप अर्यालले एक÷एक विकेट हात पारे ।
नवलपुरले सन्तोषजनक सुरुआत गरे पनि ठूलो साझेदारी गर्न सकेन। गौरव विश्वकर्माले २६ र अनिश गुरुङले १५ रन बनाए। दीपक डुम्रेले ३६ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न नसक्दा टोली दबाबमा परेको थियो ।
कास्कीका लागि कृष्ण पौडेलले चार विकेट तथा कप्तान बिपिन खत्री र सुभाष भण्डारीले समान दुई÷दुई विकेट लिए भने सिब्रिन श्रेष्ठले एक विकेट हात पारे ।
कास्कीका अर्जुन कुमाल ‘प्लेयर अफ दि सिरिज’ तथा प्रतियोगिताको उत्कृष्ट ‘व्याटर’ समेत घोषित भए । अर्जुनले प्रतियोगितामा दुई सतकसहित तीन सय २७ रन बनाए । प्रतिायेगितामा सर्वाधिक १२ विकेट लिएका कास्कीका विपिन खत्री उत्कृष्ट बलर घोषित भए ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)का सदस्य सुदीप शर्मा, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, उपाध्यक्ष प्रकाश पौडेल, सचिब सुमनराज कार्की लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियोे । गत फागुन २७ गतेदेखी सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता थियो ।
प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा सहभागी गराइने आयोजक प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

