हिमाली आवाज । कालिका बहुमुखी क्याम्पस अन्तर्गत शिक्षा विभागको आयोजनामा “अनुसन्धानात्मक लेखन कार्यशाला” शनिबार सम्पन्न भएको छ । क्याम्पसको सम्मेलन हलमा आयोजित उक्त कार्यक्रम शैक्षिक तथा अनुसन्धान अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक बिरन्जी गौतम प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विश्वविद्यालय अनुदान आयोगका सहायक निर्देशक आदरणीय श्री विश्वास ढकाल एवं वरिष्ठ सहायक श्री शिवचन्द्र पटेल विशिष्ट अतिथिको रुपमा सहभागी रही कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । शिक्षा विभागका प्रमुख लोकनाथ सुबेदीको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि गौतमले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्दै यस्ता अनुसन्धानमुखी कार्यक्रमहरूले शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धान संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा विभागप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा क्याम्पसका १४ जना उप–प्राध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले आफ्ना–आफ्ना विषय क्षेत्रमा आधारित अनुसन्धान शीर्षक विकास, उद्देश्य निर्धारण, अनुसन्धान प्रश्न निर्माण तथा लेखनको प्रारम्भिक मस्यौदा तयार पार्ने अभ्यास गरेका थिए । कार्यशालामा सहभागीहरूलाई अनुसन्धान लेखनको आधारभूत अवधारणा, संरचना तथा प्रविधिबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यशालामा स्रोत व्यक्ति एवम् शिक्षा बिभाग प्रमुख लोकनाथ सुवेदीले अनुसन्धान लेख के हो, किन लेख्ने, र यसको शैक्षिक तथा व्यावसायिक महत्वबारे स्पष्ट पार्दै लेखनका प्रमुख अवयवहरू—शीर्षक, सार (Abstract), प्रस्तावना (Introduction), साहित्य समीक्षा (Literature review), कार्यविधि (Methods), नतिजा (Result), छलफल (Discussion), निष्कर्ष (Conclusion) र सन्दर्भ (References)—बारे व्यावहारिक जानकारी दिनुभयो । उहाँले प्रभावकारी शीर्षक निर्माण, अनुसन्धान उद्देश्य र प्रश्न तयार गर्ने तरिका, अनुसन्धान अन्तर (Research Gap) पहिचान गर्ने विधि तथा प्रमाणमा आधारित विश्लेषणात्मक लेखनका सीपहरू प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, कार्यशालाका अर्का स्रोत व्यक्ति पुष्पराज तिमिल्सिनाले कार्यक्रमा सहजीकरण गर्दै सहभागीहरूलाई समूहगत तथा व्यक्तिगत अभ्यासमार्फत अनुसन्धान लेखन प्रक्रियामा सक्रिय रूपमा संलग्न गराउनुभयो । कार्यशालाको क्रममा सहभागीहरूले अनुसन्धान समस्या पहिचान गरी त्यसलाई शीर्षकमा रूपान्तरण गर्ने, अनुसन्धान प्रश्न तयार गर्ने तथा प्रस्तावना र साहित्य समीक्षाको प्रारूप निर्माण गर्ने अभ्यास गरेका थिए ।
कार्यशालामा अनुसन्धान लेखनलाई “सीप, प्रक्रिया र निरन्तर अभ्यास” का रूपमा लिनुपर्नेमा जोड दिइएको थियो । साथै, लेखनले सोचाइलाई परिष्कृत गर्ने तथा शैक्षिक पहिचान निर्माणमा सहयोग पु¥याउने विषयमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा अनुसन्धानलाई प्रमाण, तथ्याङ्क र विश्लेषणमा आधारित हुनुपर्ने उल्लेख गर्दै साहित्य चोरी (plagiarism_ बाट बच्न र सन्दर्भ व्यवस्थापनमा एकरूपता कायम गर्न विशेष जोड दिइएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले आफूहरूले तयार पारेका अनुसन्धान लेखहरू Kalika Journal of Multidisciplinary Studies: A peer–reviewed Journal को आगामी आठौँ अंकमा प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त जर्नल बार्षिकरुपमा कालिका बहुमुखी क्याम्पसबाट प्रकाशन हुँदै आएको छ ।
सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले सहभागीहरूको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । समापनका क्रममा सभापति तथा स्रोत व्यक्ति सुवेदीले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनुहुने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अनुसन्धान लेखनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै, निकट भविष्यमा फलोअप कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै सहभागीहरूलाई आफ्ना अनुसन्धान कार्यलाई प्रकाशनसम्म पुर्यानउन प्रेरित गर्नुभयो ।

