हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका यतिबेला खेलकुदको उत्साहले भरिएको छ। लाहाचोकको मैदान चैत ११ नजिकिँदै गर्दा झन् झन् चहलपहल बढ्दै गएको देखिन्छ। स्थानीय युवादेखि खेलप्रेमीहरूसम्म सबैको ध्यान अहिले एकै ठाउँमा केन्द्रित छ—अध्यक्ष कप भलिबल प्रतियोगिता।
गाउँपालिकाको खेलकुद विकास समितिको आयोजनामा हुन लागेको चौथो संस्करणको गण्डकी प्रदेश स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसपटक केवल खेल मात्र होइन, गाउँपालिकाको पहिचान, ऊर्जा र सम्भावनाको कथा पनि बोकेको छ।
गाउँपालिकाले आज पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिताप्रति बढ्दो उत्साह स्पष्ट देखिन्थ्यो। अहिलेसम्म पुरुषतर्फ १६ र महिलातर्फ ८ टोलीले नाम दर्ता गरिसकेका छन्। आयोजकहरू भने अन्तिम समयसम्म अझै बढी टोली सहभागी हुनेमा विश्वस्त छन्।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भन्नुभयो,“हामी खेलकुदलाई केवल प्रतिस्पर्धा होइन, विकासको माध्यमको रूपमा लिन्छौं।” यो प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुद संस्कृतिलाई मजबुत बनाउने मात्र होइन, गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले हिमाली आवाजसँग बताउनुभयो ।
प्रतियोगितामा आकर्षक पुरस्कार राशिले पनि खेलाडीहरूको मनोबल उच्च बनाएको छ। पुरुषतर्फ विजेताले २ लाख रुपैयाँ जित्नेछन् । द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५÷२५ हजार रहेको छ ।
महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार रहेको छ ।यसैगरी महिला तर्फ प्रथम पुरस्कार रु ६० हजार ,द्धितिय पुरस्कार रु ३० हजार ,ट्रफि मेडल रहेको छ ।
सेमिफाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार पुरस्कार पाउने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो । उहाँले यस वर्ष समावेश गरिएको छेलो प्रतियोगिताले अझ रोचकता थप्नेछ ।
“यस वर्षको विशेष आकर्षण भनेको ‘पुरुष छेलो’ प्रतियोगिता हो। स्थानीय स्तरमा लोकप्रिय यो खेल समावेश गरिएपछि प्रतियोगिता अझै रोचक बन्ने विश्वास गरेका छौँ । यसले स्थानीय संस्कृति र परम्परालाई पनि उजागर गर्नेछ।” उपाध्यक्ष अधिकारीले भन्नुभयो ।
छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु पाँच हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।
प्रतियोगितामा पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिकाभित्र आयोजना गरिने कार्यक्रमहरू मध्यकै ठुलो राशिको पुरस्कार राखिएको कार्यक्रम अध्यक्ष कप भएको बताउनुभयो ।
गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरेको र सम्बन्धित खेलाडीहरूमा पत्रचार तथा विभिन्न प्रचार प्रसारको माध्यम बाट सूचना प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । “प्रतियोगितामा सहभागी हुने खेलाडी र टोलीहरूले उत्साहका साथ प्रतिस्पर्धा गर्ने विश्वास लिएका छौँ ।” सुवेदीले भन्नुभयो ।
पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी एक जना समावेश गर्न सकिने गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम बहादुर गुरुङले बताउनुभयो ।

