हिमाली आवाज । पर्यटकीय राजधानी पोखरामा पहिलोपटक आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता (नाइटरन) का लागि आज (बिहीवार) देखि अनलाइन फर्म खुला गरिएको छ ।
नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा”उद्घोषका पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते शनिबार हुने प्रतियोगिताका लागि फर्म भर्न पोखरा क्लिकको अनलाइन पोर्टमा क्लिक गर्नुपर्ने छ । प्रतियोगितामा निश्चित संख्या पुगेपछि फारम बन्द गरिने र १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतियोगितामा सहभागी नगराइने प्रतियोगिता संयोजक दीननाथ बरालले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
आयोजकले सहभागी खेलाडीको बीमा गर्ने र रिफ्लेक्टिभ (चम्किने) टिसर्ट उपलब्ध गराउने जनाउँदै सहभागीे धावकलाई स्वयम हेडल्याम्प प्रयोग गरेर दौडमा भाग लिन पनि बरालले अनुरोध गर्नुभयो ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने प्रतियोगितालाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरकारूपमा सहयोग गर्ने भएको हो । प्रतियोगिताका लागि अटोवेज प्रा.लि., सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतका संघसंस्थाको सहयोग रहेको केन्द्रका सचिव सागर सुनारले बताउनुभयो ।
पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटरको दौड सेन्टरप्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा र महेन्द्रपुल हुँदै झण्डा पार्क फल्चासम्म दूरीमा सञ्चालन हुनेछ ।

