हिमाली आवाज । पोखराको मुटु बैदाम(लेकसाइड) क्षेत्रमा विगत केही वर्ष यता दिनानुदिन विभिन्न समस्या तथा विकृतिहरू बढ्दै गइरहेका छन्। फेवाताल वरिपरि फोहोर, रातीको समयमा हो–हल्ला, सडक दुर्घटना आदि मुख्य कारणले गर्दा यहाँका स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायहरूले समस्या भोग्दै आइरहेका छन्। यहाँको पर्यटन व्यवसाय नै संकटमा पर्ने सम्भावना रहेको देखिएको हुँदा यिनै समस्याहरूको समाधान खोज्न बैदामका स्थानीय युवाहरु “व्यवस्थित बैदामको लागि छलफल कार्यक्रम” मार्फत जुटेका छन्।
सामुदायिक प्रहरी भवन हलनचोकमा “जिम्मेवार पर्यटनको लागि अभियान” बैदामले आयोजना गरेको उक्त भेलामा लेकसाइडका अहिलेका विकराल समस्याहरु जस्तै अनधिकृत सडक पार्किङ, ध्वनि प्रदूषण, सुत्ने समयमा हो–हल्ला, फेवातालमा ढल मिसिएको समस्या, फुटट्र्याक वरिपरि फोर समस्या, पर्यटन व्यवसायको नाममा अवैध क्रियाकलाप आदि समस्याहरुको बारेमा छलफल भई समाधान खोज्न कोसिस गरिएको छ।
भेलाले आउँदा दिनहरूमा यस्ता समस्याहरूको समाधान खोज्नको लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्नुको साथै जिम्मेवार पर्यटन सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय गर्दै एक विशेष समूहको पनि टिम गठन गरेको छ। भेलाले “जिम्मेवार पर्यटनको लागि अभियान” बैदामको संयोजकमा हरि बहादुर पहारीलाई सर्वसम्मत चुनेको छ।
कार्यक्रम पर्यटन व्यवसायी सरोज अधिकारीको अध्यक्षतामा संचालन भएको थियो भने उक्त कार्यक्रममा पर्यटन विज्ञ, पर्यटन व्यवसायहरू, खेलाडी, इन्जिनियर, अनुसन्धानकर्ता, जेनजी युवाहरू, सामाजिक तथा पर्यावरण अभियन्ताहरू लगायतका २५ जना स्थानीय बासिन्दाहरूको सहभागिता थियो ।

