हिमाली आवाज । नव वर्ष–२०८३ अवसरमा पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन सम्बन्धी हुन लागेका दुई इभेन्टबीच आपसी सहकार्य हुने भएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन दौड) हुँदैछ भने होटल संघ पोखरा नेपालले चैत २९ देखि वैशाख १ सम्म २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव गर्दैछ ।
सो सम्बन्धमा दुवै आयोजक बीच आपसी सहकार्य र आवश्यक प्रचारप्रचार सँगसँगै गर्नेबारे महोत्सव आयोजक होटल संघ पोखरा नेपाल र दौड प्रतियोगिता आयोजकबीच सम्झौता भएको हो । होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले यो सहकार्यले दुबै कार्यक्रम सफल पार्न सघाउ पुग्ने बताउनुभयो । पोखरा क्षेत्रको खेलसहितको पर्यटन प्रबद्र्धन गर्नु रहेकाले सहकार्य गरिएको सुवेदीले बताउनुभयो ।
दौड प्रतियोगिता संयोजक दीननाथ बरालले लामो इतिहास बनाएको संस्था होटल संघसँगको सहकार्यले खेलकुदसहित रात्रिकालीन व्यवसाय एवं पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बरालले रात्रिकालीन दौडले रातिको समय पनि पोखरा शान्त र सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्ने बताउनुभयो । सो अवसरमा संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारी, पोखरा प्रबद्र्धन केन्द्रका सचिव सागर सुनारलगायतको सहभागिता थियो ।
नयाँ वर्ष पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” उद्घोष साथ हुने नाइट रनमा भाग लिन अनलाइन फर्म खुला गरिएको छ । त्यसका लागि पोखराक्लिक अनलाइन पोर्टलमा गई फर्म भर्न सकिने प्रतियोगिता केन्द्रका उपाध्यक्ष असफल गौतमले हिमाली आवाजलाई जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिन १२ वर्षभन्दा माथिको उमेर हुनुपर्छ । फर्म भर्न कठिनाइ भए पोखरा महानगरपालिका वडा नं. ९ सँग पनि सहकार्य गर्न सकिने व्यवस्था मिलाइएको छ ।
आयोजकले सहभागी खेलाडीको बिमा गर्नुका साथै रिफ्लेक्टिभ (चम्किने) टिसर्ट उपलब्ध गराउनेछ । साथै, धावक स्वयम्ले हेडल्याम्प प्रयोग गर्न सक्नेछन् । दौडमा विजयीलाईलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्था सहयोगमा हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर रहेका छन् । प्रतियोगिताका लागि अटोवेज प्रा.लि., सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायत संघसंस्थाको सहयोग गरेका छन् ।
फेवाताल किनार वाराही घाटबाट सुरु हुने ५ किमी दौड सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा र महेन्द्रपुलस्थित झण्डा पार्क फल्चामा पुगेर टुंगिनेछ ।
यसैगरी, २१ औं फेवा नववर्ष महोत्सवमा नेपाली कला, संस्कृति र खानालाई प्राथमिकतामा राखिने आयोजक संस्था होटल संघले जनाएको छ । उक्त अवसरमा होटल आवासमा विशेष छुटसमेत व्यवस्था गरिएको छ । महोत्सवमा देशभरबाट पर्यटक आकर्षित गर्ने लक्ष्य छ ।

