हिमाली आवाज । पर्यटनको राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ ।
जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ भोली(शनिबार) साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ ।
बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क (फल्चा) मा पुगेर समापन हुने छ ।

प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू–१६ गरी चार विधा रहेका छन् । खुलातर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताले पोखरामा खेलकुद पर्यटन प्रवद्र्धनसँगै पोखराको रात्रिकालीन सडक पनि पर्यटन प्रबद्र्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने विश्वास गरिएको छ । साथै सहभागि हुने धावकहरुलाई हेडल्याम्प सहित सहभागि हुन आयोजकले आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघ–संस्थाको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।