पोखराको सभागृहचोकमा महिलाको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

हिमाली आवाज । पोखरामा यही चैत २५ गते साँझ ७ ः१५ बजेको समयमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।\

पोखरा महानगरपालिका –८ सभागृह चोक नजिकै सडकमा हिँडिरहेको अवस्थामा पोखरा–५ जिरोकिमी घर भई हाल सेदीमा बस्दै आउनुभएकी ४२ वर्षीया सिर्जना पौडेल केसीलाई अपरिचित व्यक्तिले हतियार प्रहार गरेर गम्भीर घाइते बनाएर फरार भएका थिए । प्रहरीले उद्धार गरेको पौडेलको उपचारका क्रममा एक घण्टापछि मृत्यु भएको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा पर्वत कुश्मा नगरपालिका–११ घर भई हाल पोखरा बस्ने मृतक पौडेलको भान्जा नाता पर्ने २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखरा–१७ का ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले घटनाको अनुसन्धानका क्रममा प्रहरीले अभियुक्त सन्तोषलाई रुपन्देहीको बुटवलस्थित मनकामना टोलबाट र कुशललाई पोखराबाटै पक्राउ गरेको जानकारी दिनुभयो ।

घटनाको प्रारम्भिक अनुसन्धानमा पारिवारिक बेमेल र सम्पत्तिको विवादका कारण सो घटना घटाइएको पुष्टि भएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
“पारिवारिक बेमेलका कारण घटना घटेको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न भएको आशंकामा अन्यमाथि समेत अनुसन्धान गरिरहेको छौँ । पक्राउ परेका दुबै अभियुक्तलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ । ” प्रहरी प्रमुख नविन कार्कीले भन्नुभयो ।
पक्राउ परेकामध्ये सन्तोष यसअघि पनि अभद्र व्यवहार, चोरी तथा डाँकासम्बन्धी कसुरमा संलग्न रहेको र कुशल लागुऔषध मुद्दामा जेल परिसकेको प्रहरीको भनाई छ ।

मृतक सिर्जना ‘खसी किन्ने किस्ने’ नामले चिनिने कृष्ण क्षेत्रीकी दोस्रो श्रीमती थिइन् । कृष्णको जेठी श्रीमतीतर्फ एक छोरा र दुई छोरी रहेका छन् । तीन वर्षअघि कृष्णको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी सिर्जनासँग चार वर्षकी छोरी रहेकी छन् ।
प्रहरीका अनुसार मृतक सिर्जना र घर परिवारकाबीच बेमेल रहेको तथा कास्की जिल्ला अदालतले बकसपत्र सम्बन्धी मुद्दामा सिर्जनाको पक्षमा फैसला गरिदिएपछि परिवारभित्र विवाद थप चुलिएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा–७ मुस्ताङ चोकबाट बरामद गरेको छ । त्यस्तै, हत्यामा प्रयोग गरिएको रगत लागेको धारिलो हतियार (खुँडा) पोखरा १६ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Comments
Loading...