क्वहोलासोंथरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न तुम प्ये ल्हु संघ हङकङको माग(भिडीयो सहित)

हिमाली आवाज । तमु प्ये ल्हु संघ हङकङ ले तमुहरुको उद्गम थलो कास्की र लमजुङको सिमामा अवस्थित क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सरकारसँग माग गरेको छ ।

तमु प्ये ल्हु संघ हङकङले चैत अन्तिम साता क्वहोलासोँथरको भ्रमण गरेको थियो । भ्रमणपछि फर्केर बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी संघले आफ्नो पहिचान, इतिहास र संस्कृतिसँग जोड्ने उद्देश्यका साथ केन्द्रित विशेष अवलोकन भ्रमण सम्पन्न गरेको जनाएको छ । तमु (गुरुङ) समुदायको आदिम थलो मानिने क्होलासोंथरसहित विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलको अध्ययन गर्दै संघले संरक्षण र प्रवद्र्धनको सन्देश दिएको हो।

संघका अध्यक्ष मनबहादुरकोम्छैं तमु ले सम्बोधन गर्दै यो भ्रमण केवल यात्रा नभई आफ्नो पुख्र्यौली इतिहाससँग पुनःसम्पर्कको अभियान भएको बताउनुभयो । उहाँका अनुसार नयाँ पुस्तालाई आफ्नै सभ्यता र संस्कारसँग जोड्न यस्ता भ्रमण अपरिहार्य छन्। सन् २००३ मा स्थापना भएको तमु प्ये ल्हु संघ हङकङ ले २०२६ अप्रिल ८ देखि १३ (चैत्र २५–३०० सम्म क्होलासोंथर, ताङतिङ र सिक्लेस क्षेत्रको स्थलगत भ्रमण गरेको हो। टोलीमा विभिन्न अभियन्ता, अगुवा तथा प्राविधिक सहयोगीहरू सहभागी थिए।

यात्राको मुख्य पक्ष भनेको—क्होलासोंथर केवल भौगोलिक गन्तव्य होइन, तमु समुदायको धार्मिक आस्था, सांस्कृतिक मूल्य र ऐतिहासिक पहिचानको केन्द्र हो। कठिन भूगोल, लामो पदयात्रा र सामूहिक प्रयासबिना पुग्न नसकिने यो स्थानले अझै पनि मौलिकता जोगाइरहेको छ। भ्रमणका क्रममा टोलीले विभिन्न क्होइवों (धार्मिक संरचना), प्रशिक्षण केन्द्र, पुस्तकालय र सांस्कृतिक अभ्यासस्थलहरूको अवलोकन गर्नुका साथै स्थानीय समुदायलाई आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ। संघले भ्रमणपछि केही महत्वपूर्ण निष्कर्ष पनि सार्वजनिक गरेको छ । क्होलासोंथरमा रहेका ऐतिहासिक सामग्री संरक्षणको अभावमा हराउँदै गएका छन्।

अव्यवस्थित रूपमा राखिने ब्यानर, ध्वजा र अन्य सामग्रीलाई नियमबद्ध गर्न आवश्यक छ। आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण जरुरी देखिएको छ। पर्यटक आकर्षणका लागि आधारभूत पूर्वाधार—बासस्थान र शौचालय—विकास गर्नुपर्ने आवश्यकता छ। यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने माग गरिएको छ।

अध्यक्ष तमुले भन्नुभयो,“संस्कार जोगिए संस्कृति बाँच्छ, संस्कृति बाँचे पहिचान बाँच्छ।” यही भावनासहित संघले विश्वभर छरिएका तमु समुदायलाई आफ्नो जरा सम्झाउने अभियान अघि बढाएको छ। यो सन्देश स्पष्ट छ—क्होलासोंथर जस्ता ऐतिहासिक थलोहरूको संरक्षण केवल एउटा समुदायको जिम्मेवारी होइन, साझा सांस्कृतिक धरोहरको रक्षा पनि हो।

Comments
Loading...