माछापुच्छ्रेको पातिखोला गुफामा पूर्वाधार विकासका लागि महायज्ञ आयोजना(भिडियो सहित)

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ र ५ को सिमानामा रहेको ऐतिहासिक तथा धार्मिकस्थल पातिखोला गुफामा पूर्वाधार विकासका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ।

पातिखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा स्थानीय आमा समूह, टोल सुधार समिति, क्लब र विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यमा वैशाख १७ देखि २४ गतेसम्म जोगिचौर मणि परिसरमा महायज्ञ सञ्चालन हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।

मूल समारोह समितिका संयोजक अ.क्या डम्बरसिंह गुरुङका अनुसार गुफाको प्रचार–प्रसारसँगै धार्मिक तथा पर्यटन पूर्वाधार विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो। गुफामा करिब ५ करोड रुपैयाँ बराबरको गुरुयोजना तयार गरिएको छ भने हाल संघ र प्रदेश सरकारको लगानीमा जमिन सम्याउने लगायतका प्रारम्भिक काम भइरहेको छ।

उहाँले यस क्षेत्रमा पहिले वर्षमा तीन पटक मेला लाग्ने परम्परा रहे पनि पछिल्लो समय निरन्तरता नपाएको उल्लेख गर्दै पूर्वाधार विकासपछि मेलालाई पुनः सञ्चालनमा ल्याई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताउनुभयो ।

माघेसंक्रान्ति, श्रीपञ्चमी र चैते दशैंका अवसरमा लाग्ने मेलामा कृषि तथा स्थानीय उत्पादनको व्यापार, परिकार तथा मिष्ठान्न भोजनसहितको महोत्सव हुने गथ्र्यो।

महायज्ञबाट करिब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन दिने प्रचार–प्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

दानकर्तालाई विभिन्न स्तरमा सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको छ। ५ हजार रुपैयाँभन्दा माथि दान गर्नेको नाम शिलालेखमा अंकित गरिनेछ भने १० हजारदेखि ५ लाख रुपैयाँसम्म दान गर्नेहरूलाई क्रमशः दोसल्ला, सम्मानपत्र, मायाको चिनो तथा विशेष सम्मानसहित स्वागत गरिने व्यवस्था गरिएको छ।

माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष गणेश आचार्यले महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिताले क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति र जनजीवनको व्यापक प्रचार हुने विश्वास व्यक्त गर्नुभयो ।वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारीले महायज्ञ सफल बनाउन तयारी तीव्र पारिएको बताउनुभयो ।

गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीका अनुसार ऐतिहासिक महत्त्व बोकेको भए प प्रचार अभावका कारण ओझेलमा परेको यस स्थलको संरक्षण र विकासका लागि महायज्ञ आयोजना गरिएको हो।

पोखराको टुँडिखेल बगरबाट करिब १० किलोमिटर उत्तर–पश्चिममा रहेको महायज्ञ स्थलसम्म आधा घण्टामा पुग्न सकिनेछ। महायज्ञ अवधिभर पोखराको हरिचोक तथा माछापुच्छ्रे गाउँपालिकाका सबै वडाबाट यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।

Comments
Loading...