विश्व बैँकको सहयोगमा पोखराको शिशुवा–खुदीखोला सडक निर्माण सम्पन्न, महानगर प्रमुख आचार्यद्धारा उद्घाटन

हिमाली आवाज । नेपालको विकास साझेदार विश्व बैँकको लगानीमा पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला खण्डको निर्माण सकिएर आज उद्घाटन गरिएको हो । यो सडक पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित हो । उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।

आयोजनाका फोकल पर्सन इ.नवीन गौतमका अनुसार शिशुवादेखि खुदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो । विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको छ ।

सडक उद्घाटन समारोहमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताउनुभयो ।
“हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यो साना दुखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलि पल्ट भएको पनि होइन ।” पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालन रहेको उहाँले बताउनुभयो । शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैङ्क कै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

तालचोक बेगनास सडक निर्माणमा भइरहेको ढिलाइ प्रति उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो । आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोध लगायतका कारण निर्माण कार्य विलम्ब भइरहेको उहाँले बताउनुभयो । उक्त सडक निर्माणका लागि अन्तिम पटक म्याद थपिएकाले सो अवधि भित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माण तर्फको यात्रा सह्रानीय रहेको बताउनुभयो ।

पोखरा महानगरपालिकाको छिमेकी पालिका भएको नाताले रुपा गाउँपालिका दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको बताउनुभयो । ऐतिहासिक मार्गका रूपमा स्थापित शिशुवा सिसाघाट अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको सडक नमुना सडकका रूपमा निर्माण भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले पोखरा महानगरपालिका नागरिकहरूको अपेक्षा अनुसार सेवामा पहुँचका पूर्वाधारहरू निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बाबुराम गिरीले सकारात्मक सोचको विकासमा जोड दिनुभयो । पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले महानगरपालिका समग्र महानगरको समानुपातिक र समावेशी विकासका सिद्धान्तहरूको आधारमा अगाडी बढेको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा साथ दिने सबै नागरिक तथा सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले सडक निर्माण भए पनि त्यस क्षेत्रका उपभोक्ताहरूलाई निकै सहज हुने बताउनुभयो ।

Comments
Loading...