जिल्ला दररेट समायोजन गर्न निर्माण व्यवसायी संघ कास्कीको माग

हिमाली आवाज । निर्माण सामग्रीको मूल्यमा निरन्तर वृद्धि भएपछि नेपाल निर्माण व्यवसायी संघ (क्यान) कास्कीले जिल्ला दररेट समायोजन गर्न जिल्ला प्रशासन कार्यालय कास्कीसमक्ष आग्रह गरेको छ ।

संघका अध्यक्ष लीलकाजी गुरुङको नेतृत्वमा आज गएको व्यवसायीहरुको टोलीलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै वर्तमान परिस्थितिमा निर्माण व्यवसायीहरूले लागत अनुसार काम सम्पन्न गर्न कठिन भइरहेको उल्लेख गर्दै शीघ्र दररेट समायोजन गर्न आग्रह गरिएको हो ।

संघले मध्यपूर्वमा जारी युद्ध लगायतका कारण पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, बिटुमिन) तथा अन्य निर्माण सामग्रीको मूल्यमा बारम्बार अस्वाभाविक वृद्धि भइरहेको उल्लेख गरिएको छ। यस्तो मूल्यवृद्धिले निर्माण कार्य सञ्चालनमा गम्भीर असर परेको जनाएको छ ।

प्रजिअलाई बुझाइएको पत्रमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को प्रावधानअनुसार १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएमा समायोजन गर्न सकिने व्यवस्था रहेको स्मरण गराइएको छ। साथै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १९६ बमोजिम जिल्ला दररेट समिति गठन भई हालको अवस्थाअनुसार दररेट पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

संघले पेट्रोलियम पदार्थ तथा त्यससँग सम्बन्धित निर्माण सामग्रीमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भइसकेकाले प्रचलित दररेट परिमार्जन गरी नयाँ दर कायम गर्न माग गरेको संघका सहसचिव धुर्वबाबु भट्टराइले बताउनुभयो । उहाँले चरम मुल्यवृद्धिका कारण जिल्लामा सञ्चालित अधिकांस आयोजनामा काम ठप्प हुने अवस्था आएको बताउनुभयो ।

Comments
Loading...