पोखरामा महिला गोल्डकप फुटबल सुरु,शानदार जित सहित पुलिस फाइनलमा

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा आजदेखी महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । पुलिसको जितमा राष्ट्रिय महिला टोलीका स्टाइकर समेत रहेकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । निर्मला विक र साहारा लिम्बुले एक एक गोल थपे ।

खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो । पाँचौ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । नवौं मिनेटमा उनको प्रहारलाई आर एसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन् लगत्तै दशौं मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
२७ औं मिनेटमा रेखाले पुनः गोल गरिन् । उनले ३५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । त्यसको २ मिनेट पश्चात रेखाले नै पुलिसका लागि पाँचौं गोल गरिन् ।
त्यसअघि २३ औं मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिका डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन् । २८ औं मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो ।
२९ औं मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन् । ४० औं मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो । भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो ।
खेलको सुरुवातबाट नै आयोजक माथि हावी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम ग¥यो । पुलिसले दोस्रो हाफमा थप २ गोल गर्दा एक गोल उपहार स्वरुप पायो ।
खेलको ५० औं मिनेटमा साहाराले गोल गरिन् । ६० औं मिनेटमा रेखाले व्यक्तिगत पाचौं गोल गरिन् । उनी खेलको ‘प्लेयरअफ दी म्याच’ समेत घोषित भइन् । जित संगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । आयोजक आर एस र पुलिस संगै त्रिभुवन आर्मी क्लब र संकटा क्लबको सहभगिता रहेको छ ।
प्रतियोगिताअन्तरगत शनिबार त्रिभुवन आर्मी क्लब र संकटा क्लब बीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ ।
यही वैशाख २० गते हुने प्रतियोगिताको फाइनल खेलमा च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् ।
यसैगरी उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार प्राप्त गर्नेछन् । अनुसासित टिमले रु २५ हजार पाउने आयोजकले आरएस पोखराले जनाएको छ ।

Comments
Loading...