हिमाली आवाज । पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
पोखरा रङ्गशालामा आज सम्पन्न फाइन खेलमा अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोलले पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भयो । उपाधि विजेता पुलिसले रु पाँच लाख सहित ट्रफी पुरस्कार पाउँदा उपविजेता आर्मीले रु तीन लाखमा चित्त बुझायो । पेनाल्टी सुटआउटमा दुबैतर्फबाट समान चार चार गोल भएपछि खेल सडन डेथमा पुगेको हो ।
पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षक कोपिला खड्काले रोकिन् ।
आर्मीका लागि अनिता लाम्जेल, दीपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुंग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो भने इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषाले जोगाइन् ।
खेलको निर्धारित ९० मिनेटको समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । आर्मी पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको थियो । पुलिसको एक खेलाडी कम हुँदा समेत सोको फाइदा पुलिसले उठाउन सकेन । खेलको २७ औँ मिनेटमा पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले पेनाल्टी एरिया नजिक लडाएपछि उनले रातो कार्ड पाएकी थिइन् ।
प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु ३० हजार पुरस्कार पाइन् । यसैगरी उत्कृष्ट गोलरक्षक पुलिसकी उषानाथ तथा रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुल पाँच गोल गरेकी थिइन् । उनीहरुले जनही रु १५ हजार पुरस्कार पाए । प्रतियोगिताको अनुसासित टिमको पुरस्कार आयोजक आर एस पोखरा फुटबलले प्राप्त ग¥यो ।
विजेता टोली तथा खेलाडीहरुलाई नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
यही वैशाख १८ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसंगै संकटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो ।