हिमाली आवाज ।कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।
नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना हुन लागेको हो। यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो ।
संघका अध्यक्ष सन्तोष बस्यालका अनुसार कार्यक्रममार्फत चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अर्थपूर्ण संवादको वातावरण सिर्जना गर्दै समसामयिक विषयमा अनुभव आदान–प्रदान तथा सिर्जनात्मक बहस गरिनेछ ।यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुनेछ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन्।
‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन्।
‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् ।
‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।
कार्यक्रम विभाग प्रमुख तथा संयोजक राकेश गुरुङका अनुसार बैशाख २५ गते साँझ ‘सिनेमा साँझ’ विशेष कार्यक्रम अन्तर्गत चर्चित पोखरेली ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ, जहाँ नेपाली चलचित्रका लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछन् ।
संघका सचिव सुरेश सुनारले कार्यक्रमको प्रत्येक सेसन प्रभावकारी बनाउन निरन्तर तयारी भइरहेको जानकारी दिनुभयो । तयारीकै क्रममा आयोजक टोलीले माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ तथा ल्वाङ सामुदायिक होमस्टे समितिसँग समन्वय गरिसकेको बताउनुभयो ।यसपटक कार्यक्रमलाई अझ व्यवस्थित बनाउन सहभागिताका लागि रजिष्ट्रेसन शुल्कसमेत तोकिएको छ ।
सिनेमा संवादमार्फत ल्वाङ गाउँको पर्यटन प्रवद्र्धनसँगै नेपाली सिनेमा क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै, कार्यक्रममा उठेका विषयलाई अवधारणा पत्रका रूपमा सम्बन्धित निकायमा पेश गर्ने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ ।