पोखरा स्पोर्ट्स अवार्ड:मनोनयन सार्वजनिक,बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्न लागेको दसौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ अन्तर्गत चार विधामा १२ जनाको मनोनयन सार्वजनिक गरिएको छ ।

पोखरामा आज मञ्चले पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधामा १२ जनाको मनोनयन सार्वजनिक गरेको हो ।

‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह पर्नुभएको छ । त्यसैगरी ‘वर्ष उत्कृष्ट महिला खेलाडी’ विधामा आर्चरीकी मोनिका रानामगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङ पर्नुभएको छ ।
‘उदीयमान खेलाडी’ तर्फ एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा पर्नुभयो भने ‘वर्ष उत्कृष्ट प्रशिक्षक’को सूचीमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी पर्नुभएको छ ।
हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गर्नुभएको हो ।
मञ्चका अध्यक्ष एमवि आस्था मगरले विगत एक वर्षका अवधिमा खेलाडी तथा प्रशिक्षकले गरेको प्रदर्शनका आधारमा उत्कृष्टभित्र पर्नेहरुको मनोनयन सार्वजनिक गरिएको बताउनुभयो ।
यसैगरी मञ्चले ‘वर्ष उत्कृष्ट खेल संघ’का रूपमा कास्की जिल्ला क्रिकेट संघ र ‘वर्ष उत्कृष्ट खेल पत्रकार’का रूपमा दीननाथ बराललाई छनोट गरेको छ । बराल मञ्चको निवतमान अध्यक्ष हुनुहुन्छ । उहाँ करिव २५ वर्षदेखी पोखरामा रहेर खेलकुद पत्रकारिता गर्दै आउनुभएको छ ।
यस वर्ष कुल नौ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । जसमा लाइफ टाइम एचिभमेन्ट, स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत रहेका छन् ।
पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपिन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाँथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहनुभएको छ । मञ्चले गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्य सहित आयोजना हुँदै आएको अवार्डको निरन्तरता दिएको हो ।
मञ्चले खेलाडीहरूको मनोवल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन यस्तो अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।
वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषले एक÷एक थान स्कुटर पुरस्कार पाउनेछन् । “पोखरा स्पोर्टस् अवार्ड गण्डकी प्रदेशकै ब्राण्ड बनेको छ । खेलकुद क्षेत्रको विकासमा योगदान गर्नेहरुलाई अझ बढी उत्प्रेरित र प्रोत्साहित गर्नका लागि कार्यक्रमले योगदान पुग्नेछ । ” मञ्चका अध्यक्ष मगरले भन्नुभयो ।
विगत एक वर्षभरिको प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुनेछ ।
मञ्चका अनुसार यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउने मञ्चका महासचिव प्रशुराम शर्माले जानकारी दिनुभयो ।
विसं २०५७ मा कास्कीबाट स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि नियमित रूपमा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

Comments
Loading...