हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न भएको १० औं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड टेनिसका खड्का र महिलातर्फ एथलेक्टिसकी भण्डारीले खेलकुद क्षेत्रमा विगत एक वर्षमा गरेको प्रर्दशनका आधारमा अवार्ड जित्दै जनही एक÷एक थान स्कुटर पुरस्कार प्राप्त गरेका छन् ।
पुरुषतर्फको विधाको मनोनयनमा विजेता खड्कासँगै जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह रहेका थिए । भने महिलातर्फ भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा रहेकी थिइन् ।
अवार्ड अन्तर्गत ‘पिलल्स च्वाइस अवार्ड’ भलिबलका खेलाडी राजन दर्लामीमगरले प्राप्त गरेका छन् । उनले अवार्डसँगै हिरोको जुम स्कुटर प्राप्त गरे । यस विधामा दर्लामीसँगै फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका विपिन खत्री मनोनयनमा परेका थिए ।
दर्शकको भोटका आधारमा सबैभन्दा बढि मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो । खल्ती एपमार्फत प्राप्त भोटलाई यस विधामा मान्यता दिइएको थियो ।
पोखरा स्पोर्टस् अवार्ड अन्तरगतको ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’बाट एथलेटिक्सका पूर्व खेलाडी टीकाबहादुर बोगटी सम्मानित भएका छन् । ओलपम्पिकमा दुई पटक सहभागी बनेका बोगटीलाई चाँदीको करुवा, अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
अवार्डमा वर्ष उत्कृष्ट खेल संघसंस्था कास्की जिल्ला क्रिकेट संघ, वर्ष उदीयमान खेलाडी ब्याटमिन्टनकी निभा राई, स्पेशल अवार्ड पारा खेलाडी सुस्मा तामाङ, वर्ष उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीननाथ बराल सम्मानित हुनुभयो । उहाँहरुलाई अवार्डसँगै जनही रु ३५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त खेलाडी, प्रशिक्षक, खेल पत्रकार लगायतलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसी, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले अवार्डसहित सम्मान प्रदान गर्नुभयो ।कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको सीमित स्रोत र साधनले भ्याएसम्म खेलकुद विकासका लागि सहयोग गर्दै आएको बताउनुभया ।
“सीमित स्रोतका बाबजुत पनि गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरुलाई मासिक भत्ता उलब्ध गराइएको छ । प्रदेशलाई खेलकुदको माध्यमबाट विकास गर्दैै संघ र प्रदेश सरकार मिलेर मुस्ताङमा हाईअल्टिच्युट मैदान बनाउँदैछौै । यसको उद्देश्य पनि गण्डकी प्रदेशलाई साहसिक खेलको माध्यमबाट विश्वमाझ परिचित गराउने हाम्रो लक्ष्य छ ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
पोखरा महानगर प्रमुख आचार्यले ‘इभेन्ट’को सहर पोखरामा पोखरा स्पोटर््स अवार्डले अर्को रौनक थपेको बताउँदै अवार्डलाई महानगरले अभिभाकत्व प्रदान गर्ने बताउनुभयो ।