हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ ।
श्री एयरलाइन्सको जहाजले दिउसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिनुभयो ।
मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्य प्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत पोखराबाट स्वदेश लगिएको हो ।
विमानमा एक जना विरामी, तीन जना स्वास्थ्यकर्मी र दुई जना विरामीको आफन्त गरी ६ रहेको पोखरा विमानस्थलले जनाएको छ । “पोखराबाट पहिलो पटक भारत सिधा उडान भएको छ । स्वदेशी विमान कम्पनीले छिमेकी मुलुक उडान गर्नु विमानस्थलका लागि राम्रो कुरा हो । ” प्रवक्ता रेग्मीले भन्नुभयो ।
पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहनुभएका श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको दिनदेखी शुभारम्भ गरिएका यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमै सीमित बनेको छ ।
पोखरा विमानस्थलबाट यसअघि भुटान,चीन लगायका देशमा चार्टर उडान हुने गरेपनि भारतमा पहिलो पटक उडान भएको हो ।

Comments