सराङकोटको पँदेलीमा योग, ध्यान तथा साधना

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. १८, सराङकोट–पँदेलीमा योग, ध्यान तथा साधनाको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा योग, ध्यान, साधना तथा विशेषगरी इकजयले प्रतिपादन गर्नुभएका विभिन्न ध्यान विधिहरू अभ्यास गरिएको थियो। कार्यक्रममा स्थानीय व्यक्तित्वहरू, ओशो सन्यासीहरू, ओशोप्रेमीहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। सबैजना सामूहिक रूपमा ध्यान साधनामा सहभागी हुँदा कार्यक्रम अत्यन्तै शान्त, सकारात्मक र ऊर्जामय बनेको थियो।

कार्यक्रममा स्वामी टाईगरले ओशोद्वारा प्रतिपादित विभिन्न ध्यान विधिहरूबारे विशेष जानकारी दिनुभएको थियो । यसबाट कार्यक्रमलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाएको थियो। योग, ध्यान र साधनाको संयोजनले कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भयो।
उक्त समाधिस्थल करिब दुई सय वर्षअघि सात जना ऋषिहरूले ध्यान र साधना गरेको पवित्र स्थलका रूपमा पनि चिनिन्छ, जसले यस स्थानको आध्यात्मिक महत्व अझ विशेष बनाएको छ।
कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा, चेतनाको विकास तथा रूपान्तरणको सन्देश दिएको कार्यक्रम संयोजक नारायण पहारीले जानकारी गराउनुभयो। साथै यस्ता कार्यक्रमहरूले समाजमा अझ राम्रो सन्देश प्रवाह गर्ने र मानिसको चेतनाको स्तर वृद्धि गर्न सहयोग पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने कुरा समाधिस्थल सम्रक्षणका अध्यक्ष एकबहादुर ढकालले जानकारी गराउनुभयो।
कार्यक्रममा समाजसेवी चूडामणि पाहारी , पदेली टोल विकास समिति अध्यक्ष नारायण थापा, तथा जागृति युवा मञ्चका अध्यक्ष राजकिशोर थापालगायत विभिन्न सामाजिक तथा स्थानीय व्यक्तित्वहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
यस कार्यक्रमले समाजमा शान्ति, सकारात्मक सोच, आत्मचेतना र सामूहिक रूपान्तरणको सुन्दर सन्देश दिएको सहभागीहरूले बताएका छन्।

Comments
Loading...