पोखराको फिर्केखोला खोलाघरका १०५ अतिक्रमित संरचना ढले

हिमाली आवाज । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको आज चौथो दिनसम्मा खोलाघर भित्रका एक सय पाँच संरचना हटाइएको छ ।
पोखरा महानगरपालिकाले यही जेठ १० गतेदेखी फिर्केका तीन स्थानबाट डोजर चलाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो ।
महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले चौथो दिनसम्म साना ठूला गरी व्यक्तिगत तथा संस्थागत गरी एक सय पाँच संरचना भत्काइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबारमात्र साना ठूला गरी २३ वटा संरचनाहरू हटाइएको छ । पोखरा महानगरपालिका वडा नं.१८ र २ को सिमाना क्षेत्रमा आठ वटा संरचनाहरू हटाइएको छ भने, वडा नं.४ र ५ को क्षेत्रमा एक वटा पक्की र तीन वटा कच्ची संरचनाहरू भत्काइएको छ ।
वडा नं.७ र ८ मा पाँच वटा कम्पाउन्ड वाल र छ वटा स्थायी संरचनामा डोजर चलेको छ । खोला घर खाली गर्ने कार्यमा तीन वटा जेसिवी र दुई वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारीहरू समेत खटिएको महानरले जनाएको छ ।
महानगरले विसं २०८० मा गरेको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका एक सय ६० संरचनाहरु निर्माण गरिएका छन् ।
फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ । यसैगरी खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएका छन् ।
फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ वटा गरी पाँच सय ८८ सिमा स्तम्भहरु गाडिएका थिए ।
फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना छ । साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवद्र्धन र लाईटिङ् सहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गर्ने योजना छ ।

Comments
Loading...