हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगद सहित सम्मान गरेको छ ।
गाउँपालिकाले शुक्रबार कार्यक्रम आयोजना गरेर सार्दिखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमलाई रु ५० हजार नगद र सम्मानपत्र प्रदान गरेको हो।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक चार जिपिए ल्याउने विद्यार्थीका रूपमा गौतमले यो सफलता हासिल गर्नुभएको हो।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो।
सम्मानपछि बोल्दै छात्रा गौतमले आफ्नो सफलतामा व्यक्तिगत मेहनत, शिक्षकहरूको मार्गदर्शन, परिवारको साथ तथा गाउँपालिकाको प्रोत्साहनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
“गाउँपालिकाभर पहिलो पटक चार जिपिए ल्याउन पाउँदा निकै खुशी लागेको छ। निरन्तर परिश्रम, अनुशासन र सकारात्मक वातावरणले सफलता सम्भव हुन्छ भन्ने अनुभव मैले प्राप्त गरेकी छु ।” उहाँले भन्नुभयो।
उहाँले आगामी शैक्षिक यात्रामा अझ मेहनतका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय र शिक्षकबाट प्राप्त मार्गदर्शनलाई सदैव आत्मसात गर्ने बताउनुभयो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाबाट एसइइमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आगामी वर्षहरूमा पनि रु ५० हजारसहित सम्मान गर्ने घोषणा गर्नुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा ऊर्जा, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो।
