पत्रकार पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गरिने

हिमाली आवाज ।  मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गर्ने भएको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी जेठ २३ गते नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा एक समारोहका बीच पौडेललाई अवार्ड प्रदान गरी सम्मान गर्न लागिएको हो ।
उहाँलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र सहित अवार्ड प्रदान गर्न गर्न लागिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।
अर्वाडका लागि एक लाख ११ हजार १११ रुपैयाँ अक्षयकोष राखिएको छ । यस अघि उक्त अवार्डबाट टान गण्डकी एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बर केसीलाई सम्मान गरिएको थियो । पत्रकार पौडेलले दुई दर्जनभन्दा बढी विभिन्न पुरस्कारहरु प्राप्त गरिसक्नुभएको छ ।
बि.सं.२०६३ सालदेखि राससमा आवद्ध पौडेल त्यस अघि जनमन्थन साप्ताहिकमा स्तम्भ लेखनका साथै कीर्तिपुरबाट प्रकाशित इभिनिङ टाइम्स साप्ताहिकमा सह सम्पादक, स्वर्णिम सन्देश साप्ताहिकमा सम्पादकको जिम्मेवारी सम्हाल्नुु भएको थियो । पौडेल पोखराका पर्यटन सम्बद्ध संघ संस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्का प्रेस सल्लाहाकार समेत हुनुहुन्छ ।
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । हिमाली एवम् पहाडी भूदृश्यहरू अवलोकन गर्दै बालकदेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार, गुफा आदिको अवलोकन गर्न सकिन्छ । छ रात सात दिनको समयावधिमा पदयात्रा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य हो । तीन सय प्रजातिका चरा पाइने यस पदमार्गका ठाउँ ठाउँमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर प्रशस्त मात्रामा देख्न सकिन्छ ।
Comments
Loading...