हिमाली आवाज । मादी गाउँपालिका–७, तल्लोछाचोकमा रहेको सिल्दुजुरे अस्थायी प्रहरी चौकीको भवन जीर्ण अवस्थामा पुगेपछि चौकीलाई सिल्दुडाँडास्थित साविक सिल्दुजुरे गाविस भवनमा स्थानान्तरण गरिएको छ ।
कास्की जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको स्थलगत अनुगमनपछि मादी गाउँपालिका तथा वडा नं. ७ कार्यालयको समन्वयमा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको साविक गाविस भवनलाई प्रहरी चौकी सञ्चालनका लागि प्रयोगमा ल्याइएको हो ।
उक्त प्रहरी चौकीको कार्यक्षेत्र मादी गाउँपालिका वडा नं. १, २, ६ र ७ रहेको छ । चौकी स्थानान्तरणसँगै आयोजित जनप्रतिनिधि तथा स्थानीयसँगको भेटघाट एवं परिचय कार्यक्रम सिल्दुजुरे प्रहरी चौकीका प्रमुख दीपक रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले शान्ति सुरक्षा सुदृढीकरणका लागि प्रहरी चौकीको व्यवस्थित सञ्चालन आवश्यक रहेको बताउनुभयो । उहाँले साविकको सार्वजनिक भवनलाई पुनः प्रयोगमा ल्याउनु सकारात्मक कार्य भएको उल्लेख गर्दै स्थानीय समुदाय र प्रहरीबीचको सहकार्य अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै, सिल्दुजुरे अस्थायी प्रहरी चौकीलाई दरबन्दीसहित स्थायी प्रहरी चौकीका रूपमा स्तरोन्नति गर्न गाउँपालिकाले विशेष पहल गर्ने बताउनुभयो ।
लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको साविक सिल्दुजुरे गाविस भवन प्रहरी चौकी स्थानान्तरणसँगै पुनः उपयोगमा आएको छ । यसले सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा सदुपयोगमा महत्वपूर्ण टेवा पुगेको स्थानीयको भनाइ छ ।
सिक्लेस प्रमुख पर्यटकीय गन्तव्य भएकाले काहुँखोला–सिक्लेस सडकखण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरूको अत्यधिक आवागमन हुने गर्दछ । मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङका अनुसार यस क्षेत्रमा हुन सक्ने दुर्घटना, विपद् तथा आपराधिक घटनामा सुरक्षा निकाय समयमै परिचालन भई प्रभावकारी सेवा प्रवाह गर्न सक्ने अवस्था सिर्जना भएको छ ।
वडा नं. ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले प्रहरी चौकीको स्थानान्तरणले स्थानीय बासिन्दाको सुरक्षा अनुभूति बढ्नुका साथै पर्यटक तथा यात्रुहरूको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
