हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार खाना महोत्सव भएको छ ।
विद्यार्थीलाई काम बारे जानकारी दिर्दै उद्यमशीलता प्रति अभिप्रेरित गर्ने उद्देश्यका साथ महोत्सव गरिएको हो।
गण्डकी प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका शिक्षा महाशाखा तथा विद्यालयको आयोजनामा भएको महोत्सवमा हेल्वेटास अन्तर्गतको इन्सीयर परियोजनाको आर्थिक सहयोग रहयो। जसमा १० कक्षाका विद्यार्थी सहभागि भए भने उनीहरुले विभिन्न १२ समूहमा विभाजित भई मिष्टान्न परिकार पकाए र विद्यार्थी एवम् अभिभावकलाई चखाए।
त्यस अवसरमा विद्यार्थीले चटपट, मःम, चाउमिन, सुक्का रोटी, पानीपुरी, आलुका विभिन्न परिकार, भुटेका तथा पोलेका मकै लगायतका खाध्य सामग्री पकाई विद्यालयको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी समेत बनाएको सहजकर्ता शिक्षक गोपी बरालले जानकारी दिनुभयो ।
कार्यक्रमसँगै विद्यार्थीको रचनात्मकता झल्कीएको तथा स्वादिष्ट स्वादले रोमाञ्चक दिनको अनुभूति गराएको प्रधानाध्यापक डिल्लीराम शर्माको भनाई छ।
त्यस अवसरमा विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदाय पनि सहभागि भए ।प्रति समूहलाई रु. ५ हजार बिउ पूँजीका रुपमा प्रदान पनि गरियो।महोत्सवमा शिक्षक गोपी बराल तथा लीला पराजुली सहजीकरण गर्नुभयो ।
यसैबीच परियोजना अन्तर्गत विद्यालयले कक्षा १० र ८ का विद्यार्थीलाई पोखरा स्थित विभिन्न उद्योगको भ्रमण पनि गराएको छ ।
यसै शैक्षिक सत्रदेखि कक्षा ११ तर्फ होटल व्यवस्थापनको पढाइ संचालन हुन लागेको छोरेपाटन माविमा खाना महोत्सव गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
कार्यक्रम खानाका परिकार बारेमा मात्र नभई सामुहिक भावनालाई बढावा दिर्दै विद्यार्थीका प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ पनि आयोजना गरिएको सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले बताउनुभयो ।
