कालिका बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याणकारी समिति पुनर्गठन

हिमाली आवाज । गुणस्तरीय उच्च शिक्षाको प्रवद्र्धन, विद्यार्थी नेतृत्व विकास तथा क्याम्पस र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ कालिका बहुमुखी क्याम्पस, पोखरा–१४, काजीपोखरी मा विद्यार्थी कल्याण समिति पुनर्गठन गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको तथा विश्वविद्यालय अनुदान आयोग (UGC) को गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त नेपालकै प्रतिष्ठित क्याम्पसले विगत तीन दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । शैक्षिक उत्कृष्टता, अनुशासित शैक्षिक वातावरण, दक्ष जनशक्ति उत्पादन तथा समुदायसँगको सहकार्यका कारण क्याम्पसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत विशिष्ट पहिचान स्थापित गरेको छ ।

क्याम्पसमा आयोजित विद्यार्थीहरुको विशेष भेलाले तेजेन्द्र के.सी. को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा समिक्षा भुजेल, सचिवमा प्रशंसा मल्ल, सहसचिवमा लोकमाया घर्ती तथा कोषाध्यक्षमा मनिषा पचभैया चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरूमा सुजन रानाभाट, रोषन खत्री, आकाश गुरुङ, दिपिन गुरुङ, पुरुषोत्तम चौधरी, सविता गुरुङ, जिविका गुरुङ, रिता थापा मगर, मनिता सुवेदी, मनिषा पराजुली, सन्ध्या गुरुङ, सपना बस्तेत, रेविका गुरुङ, फुलमाया गुरुङ, सरस्वती पौडेल तथा डेनिसा थापा चयन भएका छन् ।

विद्यार्थी कल्याण समिति क्याम्पसको एक महत्वपूर्ण विद्यार्थी प्रतिनिधिमूलक निकाय हो । समितिले विद्यार्थीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यार्थीका समस्या, आवश्यकता र सुझावलाई क्याम्पस प्रशासनसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने कार्य गर्दछ । यसका अतिरिक्त क्याम्पस र समुदायबीच सहकार्य विस्तार, सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन, स्वयंसेवी गतिविधि प्रवद्र्धन तथा सकारात्मक शैक्षिक वातावरण निर्माणमा समेत समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले विद्यार्थी हितलाई केन्द्रमा राखेर शैक्षिक, सामाजिक, सांस्कृतिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याम्पस प्रशासनले पुनर्गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यार्थीमैत्री वातावरण निर्माण, गुणस्तरीय शिक्षाको प्रवद्र्धन, सिर्जनशील सहभागिता र नेतृत्वदायी भूमिका खेल्दै नवप्रवर्तनलाई प्रोत्साहन र समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउन समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

Comments
Loading...