हिमाली आवाज । पोखराको पृथ्वीचोकस्थित प्रश्तावित बसपार्कको जग्गामा अनधिकृत रुपमा बनाइएको बास्तोला कम्प्लेक्सका तीन सय २० वटा सटर लगायतका संरचनामा शनिबार महानगरले डोजर चलाएर खाली गरेको छ ।
पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोक स्थित सेती नदी पट्टीको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीकाबीचमा संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए ।
प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो । उहाँका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो ।
“हामीले जग्गाधनीसँग सहमति गरेका थियौँ। सोही अनुसार खाली गरिएको हो । सुकुम्बासी बस्तीमा भने व्यवस्थापन नगरि हटाउने छैनौँ । ” आचार्यले भन्नुभयो । महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्धारमा रहेका सटरमा डोजर चलाएको थियो ।
महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भएपनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।
महागरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णय लगायतको विषयमा छानविनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति समेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेश हुन सकेको छैन ।
महानगर प्रमुख आचार्यले लालपूर्जा भएका जग्गाधनीहरुको छानविन पनि द्रुत गतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताउनुयो ।
पोखरा–९ का वडाका वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको सम्पूर्ण जग्गा खाली गरिने बताउनुभयो । उहाँले बसपार्कको जग्गा अतिक्रमण गरी बसेका सुकुम्वासीहरुलाई वैकल्पिक व्यवस्थापनको काम समेत अघि बढाइको बताउनुभयो । महानगरले यही असार ४ गतेदेखी बसपार्कका संरचना हटाउन सुरु गरेको हो ।
